प्रतिनिधिसभाको बैठक अहिले जारी छ। आजको बैठकले संविधान संशोधन विधेयक पारित गर्ने अपेक्षा गरिएको छ।
भारतले अतिक्रमण गरेको भूमि समेटेर सरकारले हालै नयाँ नक्सा जारी गरेकोमा त्यसलाई संविधान र निशान छापमा समावेश गर्न संविधान संशोधन गर्न लागिएको हो।
संविधान संशोधन विधेयकको पक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत सबै दलहरु रहेकाले उक्त विधेयक पारित हुने निश्चित छ।
कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले विधेयक प्रस्तुत गर्नुअघि विभिन्न दलका शीर्ष नेताहरुले बोलिरहेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले एक जनालाई १० मिनेट समय दिएका छन्।
संसदलाई सम्बोधन गर्ने क्रममा जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले तोकिएको समयभन्दा बढी बोलेपछि सभामुख सापकोटाले समय सकिएको जनाउ दिए- माननीय सदस्य, तपाईं बोल्दै गर्दा थाहा पाउनु भएन, मैले ७ मिनेट समय थपिसकें।
तर, महतो एकैछिन सभामुख महोदय भन्दै बोलिरहे। 'यति संवेदनशील समयमा पनि सभामुखज्यूले मलाई दुई चोटी टोकिसक्नुभो। कसरी हुन्छ खै, बुझ्न सकिएन। लकिरका फकिर ! प्रधानमन्त्री बन्नुपर्छ समय किटान नहुनलाई। प्रचण्डजी र देउवाजी बोल्दा समय किटान भएन किनकी उहाँहरु प्रधानमन्त्री रे । जनता समाजवादी पार्टी देशको प्रधानमन्त्री भएर यो रोस्टममा आएपछि बल्ल समय पाउनेभयो। ठिक छ त्यो पनि देखाउँला।'
महतोपछि बोल्ने समय पाएका जसपाकै नेता उपेन्द्र यादवले आफूलाई चाहिँ नटोक्न सभामुखलाई व्यंग्य गरे। 'बडो अचम्मको कुरा सुनें अहिले भर्खरै, सभामुखज्यूले टोक्नु हुँदोरैछ। मलाईचाहिँ नटोक्दिनु होला,' यादवले भने।