कपिलवस्तु– धानको बीउमा राख्ने मल नपाएपछि यहाँका कृषक चिन्तित बनेका छन्। डीएपी र युरिया रासायनिक मल नपाएर चिन्तित बनेका किसान पूर्वपश्चिम राजमार्गको जीतपुर, गोरुसिंगे र चन्द्रौटा बजारमा मलको खोजीमा भौंतारिरहेका छन्।
राजमार्ग क्षेत्रमा मल नपाएपछि तौलिहवा महाराजगन्ज र बहादुरगन्ज पुग्दासमेत मल नपाएको बुद्धभूमि नगरपालिका हरिहरपुरका बालकृष्ण पोखरेलले बताए। उनले मलको जोहो गर्न सरकार र सम्बन्धित निकायसँग माग गरे।
पटकपटक स्थानीय तह र कृषि सामग्री वितरण केन्द्रलाई मलका लागि भन्दा केही पहल नभएपछि मल खोज्दै बहादुरगन्ज आएको उनको भनाइ थियो ।
किसानले बल्लबल्ल छरेको धानको बीउमा मल हाल्न नपाएपछि सुक्न थालेको अर्का किसान शिवपूजन यादवले बताए। पहिले बीउको अभाव भए पनि जेनतेन कहींबाट व्यवस्था गरिए पनि अहिले मल नपाएर समस्या भएको यादवले दुखेसो पोखे।
कोरोना भाइरसको समेत पर्वाह नगरी बिहानैदेखि मल किन्न आएका किसान मल नपाएपछि बहादुरगन्ज रित्तो फर्किएका छन्। कपिलवस्तु कृषि ज्ञान केन्द्रले मल पर्याप्त मात्रमा नरहेकाले अहिले बिक्रीवितरण नगरिने जनाएको छ।
प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले मल पर्याप्त नभएकाले अहिले वितरण गर्न नसकिने र रोपाइँका समयमा वितरण गरिने निर्णय भएको कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख रामगोविन्द अर्यालले जानकारी दिए।
कपिलवस्तुमा अहिले ४६ टन डिएपी मल र १० टन युरिया मल मात्र छ । आउने हप्ता अर्को बैठक बसेर मलका विषयमा निर्णय गरिने उनले बताए। कपिलवस्तुमा ७२ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ जसका लागि पाँच हजार टन मल आवश्यक हुन्छ।