आज (शनिबार) माइतीघर मण्डलमा युवाहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन्।
आजको शान्तिपूर्ण प्रदर्शनको कदरस्वरुप प्रधानमन्त्रीले आन्दोलनकारीलाई धन्यवाद भन्नुपर्ने विवेकशील नेपाली पार्टीका अध्यक्ष मिलन पाण्डेले बताएका छन्।
आजको आन्दोलनका कार्यक्रम सकिएपछि नेपाल समयसँग कुरा गर्दै पाण्डेले भने, ‘आजको आन्दोलन एकदमै शान्तिपूर्ण तवरले भएको छ। यसको लागि त प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ आएर धन्यवाद भन्नुपर्छ।’
सरकारले कोरोनाको रोकथामका लागि लगानी गरेको हिसाब सार्वजनिक गर्नुपर्ने, कोरोना परीक्षणको दायरा फरकिलो बनाउनुपर्ने लगायतका माग राखेर स्वतन्त्र युवाहरुको समूहले केही दिनयता आन्दोलन गरिरहेको छ।
आजको आन्दोलन माइतीघर वरिपरि भएकोमा प्रहरीले त्यतातर्फ जान रोक लगाएको थियो। माइतीघर छिर्ने भद्रकाली, न्यु प्लाजा, हनुमानस्थान, बबरमहल र थापाथली चोकबाट विशेष काम भएका मानिसबाहेक अरुलाई प्रहरले आन्दोलन स्थलतर्फ जान रोक लगाएको थियो। सरकारको विरोधमा उत्रिएको आन्दोलनकर्ता वैकल्पिक बाटो प्रयोग गरेर आन्दोलन स्थलसम्म पुगेका थिए।
‘सरकारले हाम्रो आन्दोलनको महत्व नै बुझेको छैन। स्वतन्त्रपूर्वक, सामजिक दूरी कायम गरेर गरिएको आन्दोलन पनि दबाउन खोजिएको छ,’ अध्यक्ष पाण्डेले भने। आन्दोलनमा विवेकशील नेपाली दललो समर्थन रहे पनि पाण्डेले पार्टीका तर्फबाट नभई स्वतन्त्रपूर्वक आएको बताएका छन्।
विरोधमात्र होइन सरकारको समर्थन पनि
माइतीघरमा आज जम्मा भएको भीडले कोरोनाको जोखिम समाधानको लागि सरकारको कदमको विरोध गर्नुका साथै नयाँ नक्सा जारी गरेकोमा सरकारलाई धन्यवाद पनि दिएको छ।
विरोध कार्यक्रम सम्पन्न भएपछि नेपालको राष्ट्रिय गान गाइएको थियो। आन्दोलनका कार्यक्रम अझै जारी रहने पनि बताइएको छ। काठमाडौंका अन्य चोकहरुमा पनि आन्दोलन कार्यक्रम आयोजना गरिने आन्दोलनमा उपस्थित युवा बताउँछन्।
यस्ता छन् प्रदर्शनकारीका माग
१) सबै खतरामा भएकालाई, लक्षणहरू देखिए वा नदेखिए पनि, तुरुन्तै पीसीआर परीक्षण उपलब्ध गराइयोस्। यसमा निम्न व्यक्तिहरू पर्दछन्:
अ. भारतबाट नेपाल फर्किरहेका सबै व्यक्तिहरू
आ. खाडी मुलुक र अरू ठाउँहरूबाट हवाईमार्ग वा जमिन हुँदै नेपाल फर्किरहेका सबै व्यक्तिहरू
इ. कोभिड-१९ संक्रमित भएका व्यक्तिहरूका सम्पर्कमा आएका व्यक्तिहरू
ई. सम्पूर्ण स्वास्थ्य सेवाकर्मीहरू, अत्यावश्यक सेवाकर्मीहरू, र खतरामा हुने अरू सबै (नियमित रूपमा परीक्षण गराउनुपर्ने समूह)
उ. श्वासप्रश्वास सम्बन्धी रोगको लक्षणहरू देखापरेका वा ज्वरो र स्वाद/गन्ध हराएको जस्ता कुनै पनि कोभिड-१९ को लक्षण देखापरेका व्यक्तिहरू
ऊ. चिकित्सकीय सुझाव अनुसार पीसीआर परीक्षण गराइनुपर्ने अरू सबै व्यक्तिहरू
२) खतरामा भएका सबैलाई यस चार-तहको त्रियाज विधि अपनाइयोस्
आगन्तुक यात्रुहरूलाई आगमनमै र सकेसम्म छिटो पीसीआर परीक्षण गरियोस्।
अ. सम्भव भएसम्म घरमै सुरक्षित तरिकाले सेल्फ क्वारेन्टाइन: कमसेकम १४ दिनको अवधिभर, आफूमा देखिन सक्ने लक्षणहरू सबै जाँच्दै स्थानीय सरकारले गरेको सुझावाअनुसारको आइसोलेसन विधि पालना गर्ने
आ. सुरक्षित रूपमा सामूहिक क्वारेन्टाइन: कोठाको कमी, दुर्गम क्षेत्र भएर, सुरक्षा वा पारिवारिक कारणहरूले गर्दा घरमै सेल्फ क्वारेन्टाइन गर्न नसक्नुहुने व्यक्तिहरूका लागि स्थानीय सरकारले व्यवस्था गरेको सामूहिक क्वारेन्टाइन केन्द्रमा बस्ने
इ. स्वास्थ्य प्रबन्ध भएका सामूहिक आइसोलेसन केन्द्रहरू: कोभिड-१९ को संक्रमण भएका तर गम्भीर लक्षणहरू देखा नपरेका सबै बिरामीहरूका लागि यी आइसोलेसन केन्द्रहरूको प्रबन्ध हुनुपर्दछ। यस्ता केन्द्रहरू कोभिड-१९को उपचारका लागि प्रबन्ध गरिएका अस्पतालका नजिक हुनुपर्दछ।
ई. अस्पतालमा उच्च स्तरको उपचार: स्वास्थ्य सेवा आवश्यक भएका कोभिड-१९ संक्रमित बिरामीहरूलाई अस्पतालभित्र उच्च स्तरको उपचार उपलब्ध गराइनुपर्दछ।
३) अग्रपंक्तिमा भएका स्वास्थ्य सेवाकर्मी र अस्पतालका कर्मचारीहरूलाई सुरक्षा दिइयोस्
अ. आवश्यक पर्ने सबैलाई व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) उपलब्ध गराइयोस्
आ. बाहलमा बस्ने सबैलाई चाहिएको सुरक्षित आवास, तथा कानूनी सुरक्षा उपलब्ध गराइयोस्
इ. स्वास्थ्य सेवाकर्मी र अस्पतालका कर्मचारीहरूलाई गरिने भेदभाव र दुर्व्यवहारका विरुद्ध कानूनी मान्यता भएको शून्य शहिष्णुता निति अपनाइयोस्
ई. कोभिड-१९ का बिरामीहरूको सेवा गर्दागर्दै मृत्यु वा अपङ्गता भएको खण्डमा ती स्वास्थ्यकर्मी र परिवारलाई आर्थिक क्षतिपूर्तिको व्यवस्था गरियोस्
४) कोभिड-१९ को आशंका भएका वा कोभिड-१९ संक्रमित कसैलाई पनि गरिने भेदभाव र दुर्व्यवहारका विरुद्ध कानूनी आरक्षण उपलब्ध गराइयोस्
५) दैनिक ज्याला मजदूर, विदेशबाट फर्किरहेका प्रवासी नेपाली र सबै कम आय भएका र सीमान्तकृत समुदायका लागि आत्मसम्मानपूर्वक व्यवहार र राहत सामग्रीको प्रबन्ध निश्चित गरियोस्
अ. सुरक्षित खाना, पानी, बास र यात्रा पाउनुपर्ने उहाँहरूको आधारभूत आवश्यक्ताहरू पूरा गरियोस्
आ. महिला, बालबालिका र अरू सुरक्षा जरुरी पर्ने समूहलाई सुरक्षा दिइयोस्
६) बजेट निर्धारण र खर्चलगायत कोभिड व्यवस्थापनको बारे जनतालाई जानकारी गराइरहेर पारदर्शिता र जिम्मेवारीको प्रण गरियोस्