गेटाफेको सुरुवाती गोललाई पछि पार्दै ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा ग्रानाडा २–१ गोल अन्तरले विजयी भएको छ।
ग्रानाडाको लास कर्मेन्स रंगशालामा सम्पन्न खेलमा पाहुना टोलीमाथि संघर्षपूर्ण जित निकालेको हो।
खेलको २० औं मिनेटमा गेटाफेका टिवो वार्नरले सुरुवाती गोल गरे। उनको गोलबाहेक अन्य स्कोर हुन नसक्दा पहिलो हाफमा गेटाफे एक गोलले अगाडि रह्यो।
तर दोस्रो हाफको ७० औं र ७९ औं मिनेटमा कार्लोस फर्नान्डेजले गोल गरेपछि ग्रानाडाले अग्रता खोस्यो। त्यसपछि गेटाफे खेलमा फर्कन नसक्दा घरेलु टोलीले नतिजा आफ्ना पोल्टामा पारेको हो।
जितसँगै ग्रनाडा ४१ अंकका साथ लिगको आठौं स्थानमा छ। उता हारको साना गरेको गेटाफे भने चौंथो स्थानका लागि प्रतिस्पर्धामा छ। ऊ ५६ अंकका साथ पाँचौ स्थानमा छ। त्यस्तौ चौथो स्थानको रियल सोसिडाडको पनि समान ४६ अंक छ।
भ्यालेन्सिया र लेभान्टेको बराबरी
स्पेनिस ला लिगाकै गएराति सम्पन्न अर्को खेलमा भ्यालेन्सियाले लेभान्टेसँग बराबरीको खेलेको छ। भ्यालेन्सियाको मस्ताला रंगाशालामा सम्पन्न खेलमा १–१ को बराबरीमा खेल सकिएको हो।
दुवै टोलीले गोल गर्न नसकेपछि पहिलो हाफ गोरहित बराबरीमा सकिएको थियो। तर निर्धारित समयभन्दा एक मिनेट अघि भ्यालेन्सियाका राड्रिगोले गोल गर्दै क्लबलाई सुरुवाती अग्रता दिलाए।
यद्यपि, इन्ज्युरी समयमा गोल गर्दै लेभान्टेका जोन्जालो मेरेरोले खेललाई बराबरीमा ल्याए। बराबरीसँगै दुवै क्लबले अंक बाँडेका छन्। भ्यालेन्सिया ४३ अंकका साथ लिग तालिकाको सातौं स्थानमा छ भने लेभान्टे ३४ अंकका साथ १२ औं स्थानमा छ।