सोमबार, भदौ ८, २०८३

कस्तो होला कोरोनापछिको मनोरञ्जन बजार ?

भीडभाड, कोलाहल र उत्साहमाझ चम्किने मनोरञ्जन बजार कोरोना संकटपछि तत्कालै बौरिएला त ? केही कलाकार संकटपछिको समय झन् उर्वर हुनसक्ने दाबी गर्छन्।
 |  शनिबार, जेठ ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३१, २०७७

भीडभाड, कोलाहल र उत्साहमाझ चम्किने मनोरञ्जन बजार कोरोना संकटपछि तत्कालै बौरिएला त ? केही कलाकार संकटपछिको समय झन् उर्वर हुनसक्ने दाबी गर्छन्।

गएको चैत ५ गते सरकारले २५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन रोक लगाएदेखि नै फिल्म हल, मेला–महोत्सव, कन्सर्ट, नाइट क्लब जस्ता क्षेत्र बन्द छन्। अर्थात्, कोरोना संक्रमणको पहिलो ‘शिकार’ भीडभाडका बीच चम्किने मनोरञ्जन बजार बन्यो।

११ चैतदेखि सुरु भएको बन्दाबन्दी अब विस्तारै खुकुलो हुँदैछ। संक्रमणको जोखिमकै बीच अन्य पेशा, व्यवसाय सुरक्षित भएर खुल्ने क्रममा छन्। तर, मनोरञ्जन बजार कहिले खुल्छ निश्चित् छैन।

मनोरञ्जन क्षेत्रमा आवद्ध हजारौं कलाकार, प्राविधिक र अन्य कर्मचारी बेरोजगार भएको तीन महिना पुग्न थालेको छ। दोहोरी साँझ, रेष्टुरेन्ट, नाइट क्लबलगायतका मनोरञ्जनका क्षेत्र बन्द हुँदा थुप्रैको रोजीरोटी खोसिएको छ।

चलचित्र, म्यूजिक भिडियो, टेली चलचित्र इत्यादिको सुटिङ र प्रदर्शन रोकिंदा सयौं प्राविधिक र अन्य कर्मचारी बेरोजगार बनेका छन्। मेला, महोत्सव नहुँदा स्थापितदेखि नयाँ कलाकारको आम्दानीको बाटो साँघुरिएको छ।

विश्व स्वास्थ्य संगठन भन्छ, अन्य केही भाइरसजस्तै कोरोना कहिल्यै निर्मूल नहुने सम्भावना पनि छ। विज्ञहरु सामाजिक दूरीको नियम संसारका अधिकांश मानिसका लागि अझै दुई वर्ष कायम रहने बताइरहेका छन्।

यस्तो अवस्थामा जति ठूलो भीड उर्लियो उती नै सफल मानिने फिल्म, नाटक, गीत–संगीतको क्षेत्र कसरी अगाडि बढ्ला? मान्छेसँग मान्छे नै तर्किने बेला कलाकारले टेलिभिजन र यूट्यूबबाट मात्रै आम्दानी, चर्चा र सन्तुष्टि पाउलान ?

मेला महोत्सव र कन्र्सटमा हजारौं दर्शकलाई नचाउनेहरूको रोजीरोटी कसरी चल्ला?  दोहोरी साँझ, नाइट क्लब, रेस्टुरेन्टमा गाएर, नाचेर स्थापित बन्न सघंर्षरतहरूको सपना कसरी पूरा होला ? चलचित्र र म्यूजिक भिडियोमा पर्दा पछाडि काम गर्ने सयौंको भविष्य के होला ?

गायक हेमन्त शर्मा यस क्षेत्रको अवस्था दुई दशक पछाडि धकेलिएको बताउँछन्। उनको विचारमा लगानी बढ्ने र त्यसको खर्च जुटाउन नसक्ने अवस्था आउँदा कलाकारहरू पलायन हुनसक्छन्। भन्छन्, “हामी दुई दशक अघिको जस्तो अवस्थामा पुग्दै छौं। कलाकार बाँच्नकै लागि अर्को वैकिल्पक पेशा अनिवार्य हुनसक्छ।”

उनका अनुसार नयाँ आउने कलाकारले पनि अन्य पेशा व्यवसायसँगै आफ्नो गीत संगीतको रुचीलाई अघि बढाउनु पर्ने छ । स्टेजको कमाइ अबका केही वर्ष ठप्पै जस्तो हुनेछ।

अर्थात् केही वर्षदेखि विद्यमान गीत, संगीत वा फिल्मलाई नै करिअर बनाएर नाम र दाम कमाउन सकिने अवस्था हराउन सक्ने छ।

नायिका/निर्माता रेखा थापा कोरोना संक्रमण मानवजातिकै लागि संकट भएकोले मनोरञ्जन क्षेत्रमा पनि यसको प्रभाव हुनु स्वभाविक ठान्छिन्। “मानव जीवनमै चुनौती खडा भएका बेला कुनै पेशा व्यवसायमा प्रभाव नपर्ने भन्ने हुँदैन,” उनी भन्छिन्, “बरु यसले आगामी दिनमा कलाकारको छनोट गर्नेछ, सम्भवतः त्यो अझ राम्रोका लागि हुनेछ।” भोलिका दिनमा उत्पादन कम हुने भएकोले सिर्जनशील र सशक्त कलाकार मात्रै टिक्ने उनको बुझाइ छ।

तर, सशक्त कलाकारलाई पनि टिक्नका लागि संघर्ष गर्नुपर्ने र उत्पादन नै कम हुने अवस्थामा नयाँ प्रतिभा कसरी उत्साहित होलान् ? कारोबार कसरी बढ्ला ? सोच्नु पर्ने विषय छ।

कोरोना कहर कम भएर विस्तारै चलचित्र हल खुला होलान्, मेला महोत्सवमा रमझम सुरु होला, नाटकघरको बत्तीको स्वीच फेरि थिचिएला तर, अवस्था पहिलेकै जस्तो हुन भने केही वर्ष लाग्नेछ।

एकातिर दर्शकले भीडभाडमा जाने मानसिकता बनाउन समय लाग्नेछ भने अर्कोतिर लकडाउनले झारेको उपभोक्ताको क्रय शक्ति सहजै बढिहाल्ने छैन। परिणाम– थियटर र महोत्सवका टिकट काउन्टरमा भिड नलाग्न सक्छ।

गायक हेमन्त शर्मा कोरोनाविरुद्धको भ्याक्सिन नबन्दासम्म वा कोरोना भाइरस निर्मुल नहुँदासम्म ‘मास परफर्मिङ’ बन्द नै रहने बताउँछन्।
“अबको एकाध वर्ष देश/विदेशका कार्यक्रममा व्यस्त हुने अवस्था हुने छैन,” उनी भन्छन्, “यसले समग्र कला क्षेत्रमा गहिरो संकट आउनेछ।” अहिलेको संकटले नवप्रवेशीको संख्या पनि ह्वात्तै घट्ने उनको विश्लेषण छ।

गत पुसमा सुनवलमा आयोजना गरिएको महोत्सवमा प्रस्तुति दिंदै गायक हेमन्त शर्मा। तस्बिरः शर्माको फेसबूकबाट।

 

समस्यामाथि समस्या

त्यसो त मनोरञ्जन क्षेत्रको लागि कोरोना अघि पनि समस्याको चाङ लागेकै थियो। यसै पनि वर्षमा एक सय फिल्म निर्माण हुने नेपाली फिल्म उद्योगमा ५ प्रतिशत मात्रै फाइदामा जान्छन्, करिब १० प्रतिशतले लगानी उठाउँछन्। समयमै भुक्तानी पाउने कलाकार, प्राविधिक नपाउनेको तुलनामा थोरै नै छन्।

महिनामा सयौं गीत रेकर्ड हुँदा दर्शक स्रोताले एकाध मात्रै ‘नोटिस’ गर्छन्। तीनै गीतका गायक/गायिकाको देश–विदेशमा माग हुन्छ। गीत उत्पादनमा गरेको खर्च मेला महोत्सव र विदेशमा हुने कन्सर्टबाट उठ्छ। नाम र दाम आउँछ। बाँकीको लगानी रहरमै सीमित हुन्छ।

संगीतकार सन्तोष श्रेष्ठ भने गुणस्तरीय काम गर्ने र सिर्जनामा रमाउनेहरूका लागि यो उपयुक्त समय भएको दाबी गर्छन्। “संगीत होस् वा फिल्म दुवैमा गुणस्तरभन्दा संख्या बढी छ,” उनी भन्छन्, “अहिलेको अवस्थाले साधनाविना कला क्षेत्रमा आउने शैली भत्काउँछ की भन्ने आशा पलाएको छ।”

एकीन तथ्यांक नभए पनि गीत÷संगीत क्षेत्रमा वार्षिक करोडौं रुपैयाँ लगानी हुन्छ। चल्तीका गीतहरु हेर्ने हो भने एउटा गीतको भिडियो बन्दासम्म कम्तिमा चारदेखि पाँच लाख रुपैयाँ खर्च भएको देखिन्छ।

बढ्दो कारोबारले अर्थतन्त्र चलायमान बनाउँछ। त्यसैसँग अन्य गतिविधि विस्तार हुन्छन्। नयाँ प्रतिभा प्रोत्साहित हुन्छन्। राम्रो गर्ने टिक्छन्, नसक्नेहरु रहर मेटेर जान्छन्।

तर, कोरोना संकटले बजार खस्किएपछि उत्पादन कम हुने र थोरैले काम पाउने हुन्छ। अबका दिनमा गीत, संगीतसँगै चलचित्रको निर्माण ह्वात्तै घट्ने चलचित्र निर्माता आकाश अधिकारी बताउँछन्।

“निर्माण कम भएपछि थोरैले मात्र काम पाउँछन्,” उनी भन्छन्, “यसले कलाकर्मी मात्रै होइन पर्दा पछाडि जोडिएका सयौं प्राविधिक पनि बेरोजगार हुनेछन्।” यो अवस्थाले संघर्षरतमात्र होइन स्थापित कलाकार पनि पलायन हुनसक्ने उनको बुझाइ छ।

डिजिटल बजारले गाँस पुग्दैन

अहिलेको युगमा भिडियो खपतको सबैभन्दा विशाल माध्यम हो– स्मार्टफोन। नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार १६ प्रतिशत नेपालीसँग तारबाट जोडिएको र ५५ प्रतिशतसँग मोबाइल इन्टरनेटको पहुँच छ। यस आधारमा ७२ प्रतिशत नेपाली इन्टरनेटको पहुँचमा छन्।

प्राधिकरणका अनुसार नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमका थ्रीजी प्रयोग गर्ने ग्राहकको संख्या १ करोड १६ लाख ५८ हजार र फोरजीका प्रयोगकर्ता ४५ लाख २७ हजार छन्।

इन्टरनेट र स्मार्टफोनले चलचित्र र संगीत बजारको डिजिटल माग बढाएको छ। सन् २००५ मा सुरु भएको यूट्युब नेपालमा चलचित्र र गीत/संगीत हेर्ने प्रमुख प्लेटफर्म बनेको छ।

त्यसैगरी थोरै खर्च गरेर नेटफ्लिक्स’, ‘एमेजन प्राइम’, ‘डिजनी हटस्टार’ तथा ‘बुट’लगायतमा नेपालीसहित विश्व बजारका चलचित्र हेर्न सकिन्छ। तर, नेशनल पेमेन्ट गेटवे नभएका कारण नेपालीलाई ती माध्यमबाट चलचित्र हेर्न सजिलो भने छैन।

नायिका थापा डिजिटल बजार बढाउन चलचित्र नै स्तरीय बन्नुपर्ने बताउँछिन्। उनी भन्छिन्, “हाल निर्माण भएको संख्याको एक चौथाइले मात्र पुग्छ तर, गुणस्तरीय हुनुप¥यो।” डिजिटल बजारले थोरै राहत देला तर, नेपालमा यसबाट हुने आम्दानी निकै कम रहेको थापाको अनुभव छ।

जानकारहरूका अनुसार यूट्यूबमा प्रस्तुत हुने कुल नेपाली गीतमध्ये ५ प्रतिशतले राम्रै कमाई र ५ प्रतिशतले लगानी उठाए पनि बाँकी नोक्सानमा जान्छन्।

संगीतकर्मीका लागि आम्दानीको प्रमुख स्रोत देश–विदेशका मेला–महोत्सव नै हुन्। कलाकर्मीको आम्दानीको यो सदाबहार माध्यम पनि हो।

कोरोना संकटले एकाध वर्ष बन्द भए पनि त्यसपछि पुरानै अवस्था फर्किनेमा गायक शर्मा ढुक्क छन्। शर्मा भन्छन्, “भर्चुअल परफर्मेन्सले दर्शक/कलाकार दुवैलाई खुराक पुग्दैन।” उचित समय नआउँदासम्म धैर्य नै गर्नुपर्ने उनको सुझाव छ।

“जापानजस्ता मुलुकमा अडियो/भिडियो किनेर सुन्ने/हेर्ने लाइब्रेरी हुन्छन्,” संगीतकार श्रेष्ठ भन्छन्, “हामी डिजिटल बजारमा गयौं तर, हाम्रो धरातलीय यथार्थ बुझेनौं, बजारको नयाँ आयाम खोजेनौं। त्यसैले चलचित्र र संगीतमा हुने लगानी र आम्दानीको अनुपातमा समस्या छ।”

 काभ्रेको बनेपास्थित शुभकामना सिनेमा हल।

बौरिने कसरी ?

लकडाउनले मनोरञ्जन बजारका थुप्रै स्रोत बन्द गरिदिएको भए पनि डिजिटल बजार भने विस्तार गरेको छ। बहुसंख्यक मानिस फुर्सदमा भएका कारण पनि संगीत र फिल्मका लागि डिजिटल प्लेटफर्मको उपयोग ह्वात्तै बढेको छ।

चलचित्र छायांकनको काम ठप्प भएको भए पनि गीत रेकर्डिङका काम फाट्टफुट्ट भइरहेकै छन्। त्यसैले यो समयलाई केही सुस्ताउने र साधन गर्ने अवसरको रुपमा लिनुपर्ने संगीतकार सन्तोष श्रेष्ठ बताउँछन्।

“अबको एक/डेढ वर्ष बजार केही ओरालो लागे पनि भोलिको दिन उज्यालो छ,” उनी भन्छन्, “सिर्जनशीलता र साधनासहित यसपछिको समय झन् उर्वर हुन्छ भन्ने लाग्छ।”

सरकारले पनि फिल्मको विकास, विस्तार र कोरोनाले पारेको प्रभाव सम्बोधन गर्न फिल्म उद्योगका लागि थुप्रै प्याकेज अगाडि सारेको छ।

गत वर्ष नै घोषणा भएको ‘छायांकनका लागि नेपाल’ कार्यक्रमलाई सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि निरन्तरता दिएको छ। तर, कार्यक्रम घोषणाका बावजुद एक वर्षसम्म विदेशबाट एउटा पनि चलचित्र वा म्यूजिक भिडियोको छायांकन टोली नेपाल आएन। अर्थात् सरकारले बजेटमा घोषणा बाहेक अरु काममा सिन्को भाँचेन।

यस वर्षको बजेटमा चलचित्र कलाकार संघलाई घर बनाउन पैसा दिने, कोरोनाको मारमा परेका चलचित्रकर्मीलाई बैंक ग्यारेन्टी दिने, इजाजत पत्र तथा उपकरणको नवीकरण दस्तुरमा छुट तथा चालु पूँजीका लागि कर्जा सुविधा, बिजुली छुटसम्मको व्यवस्था बजेटमा समेटिएको छ।

चलचित्र निर्माणलाई प्रोत्साहन, मौलिक चलचित्र निर्माणमा सहुलियत, देशैभर छायांकनको व्यवस्था, ब्याजदरमा सहुलियत, बत्तीको डिमान्ड शुल्कमा ५० प्रतिशत छुट जस्ता कार्यक्रम पनि बजेटमा छन्। तर, बजेटमा भएको यो व्यवस्थाले गतवर्षको जस्तै नियति भोग्ने हो वा केही फरक हुने हो हेर्न बाँकी नै छ।

निर्माता अधिकारी चलचित्र उद्योगलाई विशेष राहत चाहिने बताउँछन्। उनी भन्छन्, “यो उद्योगले पनि हजारौंको रोजीरोटी जोगाएको छ। कम्तीमा एक वर्षसम्म सरकारले सिनेमाबाट कुनै कर नलिदिए ठूलो राहत हुन्थ्यो।”

 

प्रकाशित: Jun 13, 2020| 07:53 शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।