पोखरा- गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक सय ९७ पुगेको छ । शनिबार (आज) बिहान थप पाँच जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या करिब दुई सय नजिक पुगेको हो ।
आज बिहान पर्वतका चार र नवलपरासी पूर्वका एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
थपिएका संक्रमितहरु पर्वतको कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा बस्दै आएका बर्ष ६ का एक बालक र वर्ष १७ का एक जना महिलामा कोरोना पुष्टि भएको छ ।
त्यसैगरी पर्वतकै जलजला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका बर्ष १७ का १ जना पुरुष र महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका बर्ष १६ का १ जना पुरुषमा समेत कोरोनको संक्रमण देखिएको छ ।
उनीहरुलाई जिल्ला स्थित क्वारेन्टाइन कक्षमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए ।
यस्तै गण्डकी प्रदेशकै नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्व, मध्यबिन्दु नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा बस्दै आएका बर्ष ४५ का एक जना पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।
उनलाई नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्वको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।