जनकपुरधाम- पछिल्लो २४ घण्टामा प्रदेश २ का विभिन्न जिल्लामा २०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सबैभन्दा बढी रौतहटमा ८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए। संक्रमित सबैजना रौतहटको परोहा गाउँपालिकास्थित क्वारेन्टिनका रहेको झाले बताए। रौतहटमा कोरोना संक्रमितको संख्या ५८० पुगेको छ।
यसैगरी सर्लाहीमा ५७ जनामा संक्रमण पुष्टि भएको झाले बताए। सर्लाहीको विष्णुपुर गाउँपालिका, हरिपूर्वा नगरपालिका, ईश्वरपुर नगरपालिका, हरिवन नगरपालिका, ब्रह्मपुरी गाउँपालिका र कोडेना गाउँपालिका क्वारेन्टिनमा रहेका उनीहरुमा संक्रमण पुष्टि भएको हो। सर्लाहीमा कोरोना संक्रमितको संख्या ४७१ पुगेको छ।
धनुषाका १५ जनामा संक्रमण पुष्टि भएको छ। जनकपुरधाम उपमहानगरपालिका, गणेशमान चारनाथ नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, सबैला नगरपालिका र मिथिला नगरपालिकामा संक्रमण पुष्टि भएको वरिष्ठ स्वास्थ्य प्रशासक झाले बताए। धनुषामा संक्रमितको संख्या १५९ पुगेको छ।
सप्तरीका १८ जनामा संक्रमण पुष्टि भएको छ। जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका, महदेवा गाउँपालिका र बोदेबरसाइन नगरपालिकास्थित क्वारेन्टिनमा रहेका व्यक्तिमा संक्रमण पुष्टि भएको हो। सप्तरीमा संक्रमितको संख्या १२९ पुगेको छ।
सिरहामा ११ जनामा संक्रमण पुष्टि भएको छ। सिरहा नगरपालिका, गोलबजार नगरपालिका र कर्जनहा नगरपालिकाको क्वारेन्टिनमा रहेका व्यक्तिहरुमा संक्रमण पुष्टि भएको झाले बताए। सिरहामा संक्रमितको संख्या ७३ पुगेको छ।
बारामा थप एकजनामा संक्रमण पुष्टि भएको जनाइएको छ। बारामा कोरोना संक्रमितको संख्या ८५ पुगेको छ। पर्सामा भने कोरोना संक्रमितको संख्या ११९ छ।
प्रदेश २ मा ३० हजार ९२२ जनाको स्वाब संकलन भएकोमा १४ हजार ९१८ जनाको नतिजा आउन बाँकी छ।