काठमाडौं- ‘केवल सम्झना मात्रै रह्यो मलाई पागल नभन्नू है मेरो बाध्यता र समयले यहीँसम्म पुर्यायो।’ डम्बर बहादुर बिष्टले जीवनको अन्तिम ‘स्टाटस’ फेसबुक वालमा पोष्ट गरे।
बिहीबार राति पौने १२ बजेको समयमा २५ वर्षीय विष्टले फेसबुकमा स्टाटस लेख्दै देह त्याग गरे।
विष्टले कलिलै उमेरमा देहत्याग जस्तो अप्रिय निर्णय किन लिए त्यो त खुलेको छैन। तर, आफ्नै कुनै बाध्यताका कारण आत्महत्याको बाटो रोजेको उनको फेसबुक स्टाटसबाट अनुमान गर्न सकिन्छ।
फेसबुक सटाटससँगै विष्टले टिकटकमा भिडियो बनाएरसमेत पोष्ट गरेका छन्। सुदूरपश्चिमेली देउडा ठाडीभाकाको उक्त गीतको आशय प्रेममा धोका पाएको जस्तो छ। ‘तिम्रो चिनो फिर्ता लैजाउ र मेरो मुटु कलेजो फिर्ता दिइजाउ’ भन्ने बोलको उक्त गीतमा विष्टले टिकटमा भिडियो बनाएका छन्।
सँगैका साथीहरुका अनुसार विष्ट केही समयदेखि विरक्तिएका जस्तै थिए। उनले साथीहरुलाई पत्नीसँगको सम्बन्ध पनि राम्रो नभएको सुनाउँदै आएका थिए। ‘लामो समयदेखि पत्नीसँग बोलचाल नै नभएको सुनाउने गर्थे’ विष्टका एक साथीले भने।
वीरेन्द्र सैनिक अस्पताल छाउनीमा ‘मेडिकल कोर्स’ गरिरहेका विष्टले ड्युटीमै रहेका बेला आफैले बोकेको एसएलआरबाट छातीमा गोली हानी आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ।
बैतडीको सुर्नया गाउँपालिका-५ घर भएका विष्टको दरबन्दी दुर्गाबक्स गण नारायणहिटी हो।
महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रमुख डिएसपी निरञ्जनदत्त भट्टले प्रारम्भिक अनुसन्धानबाट विष्टले आफैँले गोली हानी आत्महत्या गरेको देखिएको बताए। घटनाबारे थप अनुसन्धान भैरहेको उनले जानकारी दिए।
विष्टको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ। घरबाट आफन्त आएपछि मात्र पोष्टमार्टम हुने प्रहरीले जनाएको छ।
जेठ महिनामै सुरक्षाकर्मीले गोली हानी आत्महत्या गरेको यो दोस्रो घट्ना हो। यसअघि जेठ १० गते राति स्वयम्भूमा कार्यरत प्रहरी सहायक निरीक्षक विष्णु कार्कीले गोली हानी आत्महत्या गरेका थिए।