धनगढी – कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पताल परिसरमा निर्मित कोरोना अस्पताल सञ्चालनमा आएको छ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले ५० शय्याको उक्त अस्पतालको आज शुभारम्भ गर्दै सुदूरपश्चिममा कोरोनाको जोखिम हुन नदिन उच्च प्राथमिकताको साथ काम भैराखेको बताए।
'यहाँ स्वास्थ्य संस्थाहरुको निकै खाँचो रहेको छ', उनले भने, 'अस्पतालमा आउने संक्रमितलाई तिरस्कार गर्नुहुन्न।' उनले संक्रमितको मनोबल बढाउने कार्यमा सबैले जुट्नुपर्ने बताए। 'असाध्यै जटिल अवस्था छ। संसार संक्रमित छ', सुवेदीले भने, “हाम्रोमा अरु प्रदेशभन्दा अहिलेसम्म संक्रमण कम छ।'
महाकाली अस्पताललाई उपप्रादेशिक अस्पतालका रुपमा विकास गर्ने तयारी भइरहेको उनले बताए। ९२ लाख ५४ हजारमा विपिन विल्डर्सले उक्त अस्पताल निर्माणको जिम्मा पाएको थियो।
नयाँ संक्रमित भएर आउने बिरामीलाई नवनिर्मित भवनमा राखिने महाकाली अस्पतालले जनाएको छ। हाल अस्पतालमा कञ्चनपुर र कैलालीका गरेर ३३ संक्रमित उपचाररत छन्।