सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘बाँचेर स्वदेश फर्किएला जस्तो लागेको थिएन, अब त कहिल्यै गइन्न’

‘बाँचेर स्वदेश फर्किएला जस्तो लागेको थिएन, अब त कहिल्यै गइन्न’

तीन वर्षदेखि कुवेतमा घरेलु कामदारको रुपमा रहेकी थापासहित १४० जना महिला शुक्रबार स्वदेश फर्किएका छन्। साथमा ९ जना बालबालिका पनि छन्।
 |  शुक्रबार, जेठ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०७७

भिडियो : गिरीप्रसाद भुसाल

शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट बाहिर निस्किँदा बाराकी सुनिता थापा निकै खुसी देखिन्थिन्।

‘कोरोनाको महामारी देख्दा बाँचेर आफ्नो देश फर्किएला भन्ने सोचिएको थिएन। एकातिर कोरोनाको डर अर्कोतिर तीन महिनादेखि जागिर गुमेर खाली बस्नुपर्दाको तनाव,’ विमानस्थलमा नेपाल समयसँग छोटो कुराकानीका क्रममा थापाले भनिन्, ‘आफ्नो देशमा पाइला टेक्दा जीवनकै सबैभन्दा धेरै खुसी महसुस गरेकी छु।’

कोरोना भाइरसले निम्त्याएको महामारीबाट बचेर स्वदेश फर्किन पाइएला जस्तो लागेको थिएन उनलाई। तीन वर्षदेखि कुवेतमा घरेलु कामदारको रुपमा रहेकी थापासहित १४० जना महिला शुक्रबार स्वदेश फर्किएका छन्। साथमा ९ जना बालबालिका पनि छन्।

बाराकै संगीता माझी पनि कोरोना महामारीबाट जोगिएर जन्मभूमि आइपुग्दा निकै खुसी देखिन्थिन् । ‘दिनहुँ कोरोनाको कारणले मान्छे मरेको समाचार सुन्दा त बचेर आफ्नो देश फर्किन पाइएला जस्तो लागेको थिएन। अब त कहिल्यै विदेश जाउँला जस्तो लागेको छैन।’

झापाकी काजल होमजोङको अनुहारमा पनि देखिन्थ्यो स्वदेश फर्किन पाउँदाको खुसी। ‘सकुशल नेपाल आइयो, अब विदेश कहिल्यै गइन्न,’ काजलले भनिन्।

सुर्खेतकी जुनु परियारलाई पनि अब विदेश जाने चाहना छैन। ‘अर्काको देशबाट महामारीको बेला पनि बाँचेर सकुशल आइयो । अब त आफ्नै देशमा केही गरिन्छ,’ परियारले भनिन्।

कोरोना लागेर कुवेतमा ललितपुरका ३८ वर्षीय विकास महर्जनको जेठ १० गते मृत्यु भएपछि त्यहाँ रहेका नेपालीहरुमा त्रास बढेको उनीहरुले सुनाए। त्यहाँस्थित नेपाली दूतावासका अनुसार करिब एक सयको संख्यामा कुवेतमा नेपालीहरु कोरोनाबाट संक्रमित छन्।

आममाफी पाएका नेपाली कामदारलाई स्वदेश फर्काउने निर्णयअनुसार कुवेत सरकार आफैँले नेपालीहरुलाई नेपाल फर्काएको हो। जजिरा विमानले उनीहरुलाई नेपाल ल्याएको छ।

स्वदेश फर्किनेहरुलाई नेपाली सेनाले निर्माण गरेको विभिन्न होल्डिङ सेन्टरमा राखेर सम्बन्धित प्रदेश पठाउने गरिन्छ। यसअघि जजिराका २ वटा विमानले बिहीबार २९९ जना नेपाली महिलालाई स्वदेश फर्काएको थियो।

प्रकाशित: Jun 12, 2020| 14:15 शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।