जनकपुरधाम- कोरोनाको नाउँमा सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै जनकपुरका युवाले विरोध प्रदर्शन गरेका छन्। कोरोना नियन्त्रण तथा रोकथाम नगरी तीनै तहका सरकार भ्रष्टाचारमा डुबेको उनीहरुको आरोप छ।
‘लकडाउन’ मा व्यवसाय ठप्प रहेके बेला सरकारले कर बुझाउन भनेको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार, कमिसनमा लिप्त रहेको, नेताहरु विलासी जीवनमा मस्त रहेको आरोप लगाउँदै युवा सडकमा उत्रिएका हुन्।
जनकपुरको जनक चोकमा जम्मा भएर उनीहरुले ‘जनतालाई छैन सरकारको आशा, सरकारलाई चाहियो जनताको लास, हाम्रो सरकार कता, कार्पेट होइन सोच बदलौं, पैसा छैन गोजीमा, सरकार करको खोजीमा’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए।
लकडाउन ८० दिनसम्म पुगिसक्दा समेत तीनवटै तहको सरकार मिलेर क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापन गर्न नसकेको, नाकामै नेपाली नागरिक भोकै मर्नुपरेको, गरिब मजदुर वर्गका लागि सरकारले राहतको उचित व्यवस्थापन गर्न नसकेको प्रदर्शनकारीको आरोप छ।
कोरोनाका नाउँमा सरकार लुट मच्चाउन व्यस्त भएपछि खबरदारी गर्न प्रदर्शनमा उत्रिएको तरुण दल धनुषाका उपसभापति राकेशविक्रम साहले बताए।
नाकामा आफ्नै नागरिक भोकभोकै ज्यान गुमाएपनि प्रदेश र संघीय सरकार मस्त निद्रामा सुतेपछि बाध्य भएर विरोधमा उत्रिनु परेको प्रदर्शनमा सहभागी युवा सुशील कर्णले बताए।
कोरोना महामारी र लकडाउनका कारण नेपालीहरु कष्टकर जीवन बिताउन बाध्य भइरहेको अवस्थामा पनि सरकार भाषण र भ्रष्टाचारीमा मात्र केन्द्रित रहेकोले सही बाटोमा ल्याउन प्रदर्शन गरेको युवा सरोज मिश्रले बताए ।
यता, नेपाली कांग्रेसका कार्यकर्ताहरुले महोत्तरीको जलेश्वरमा समेत सरकारविरुद्ध प्रदर्शन गरेका छन् । तीनै तहका सरकार कोरोना कहरबाट जोगाउन असफल भइसकेको भन्दै कांग्रेस नेता बजरंग नेपालीको नेतृत्वमा जलेश्वरका युवा तथा व्यवसायीले बुद्धिजीवी चोकमा आधा घण्टा धर्ना बसेर प्रदर्शन गरेका हुन्।