काठमाडौं- स्पेनको कूल ग्राहस्थ उत्पादन १.४१ ट्रिलियन डलर रहेको छ। जसको १.३७ प्रतिशत फुटबलबाट प्राप्त हुन्छ। यसैकारण हो स्पेन सरकारले फुटबललाई अधिक प्राथमिकतामा राखेको।
फुटबलकै कारण स्पेनमा एक लाख ८५ हजार मानिसले रोजगारी पाएका छन्। बेलायती सञ्चार माध्यम स्पोर्टस् मिडियाका अनुसार फुटबलबाट मात्र सरकारलाई वार्षिक ४.६७ बिलियन डलर कर प्राप्त हुने गरेको छ।
सरकारलाई राजस्व बुझाउने मामलामा ला लिगा युरोपको दोस्रो ठूलो लिग हो त्यसैले यसलाई विश्वको दोस्रो धेरै भ्यालूएबल लिग मानिएको छ।
फुटबलले देशमा पारेको आर्थिक प्रभावबारे ला लिगाका अध्यक्ष जेभियर तेबास भन्छन, ‘यो थथ्यांकले हाम्रो देशको पेसेवर फुटबलमा सामाजिक र वित्तिय महत्वको पूष्टि गर्दछ।’
ला लिगाले पछिल्लो सिजनमा ५ हजार ९७ मिलियन डलरभन्दा धेरै नाफा कमाएको थियो। लकडाउनको सुरुमा गरिएको हिसाबअनुसार स्पेनको शीर्ष २ डिभिजनको फुटबल लिग रद्द भएको अवस्थामा स्पनेमा ७७२.१ मिलियन डलरको घाटा अनुमान गरिएको थियो। जसमा टिभी राइटबाट ६२४ मिलियन डलर, सय मिलियन डलर सब्सक्रिप्सन र ४६.७ मिलियन डलर टिकटबाट घाटा हुने थियो।
तर अहिले टिकटको घाटाको भने पूर्ति नहुने भएको छ। किनभने अबका खेलमा मैदानमा दर्शक छिर्न पाउनेछैनन्।
आजबाट ला लिगा
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी युरोपभरी फैलिएपछि मार्च ११ बाट फुटबल खेल स्थगित भएका थिए।
खेल स्थगित भएको तीन महिनापछि आजबाट विभिन्न नयाँ नियमका साथ स्पेनमा फुटबल लिग सुरु हुन लागेको हो।
केही दिनअघि लिगका जारी गरेको तालिकाअनुसार आज राति १ः४५ बजेबाट खेल सुरु हुँदैछ।
खेल तालिकाअनुसार पहिलो खेलमा आज राति सेभिल्लाले रियल बेटिसको सामना गर्नेछ। त्यस्तै भोलि (शुक्रबार) राति ग्रानाडाले गेटाफेको सामना गर्नेछ भने अर्को खेलमा एस्पानोयल र लेभान्टे भिड्दैछन्।
स्पेनको दोस्रो डिभिजनको फुटबल सेकुन्डा भने बुधबारबाटै सुरु भइसकेको छ।
शोक व्यक्त गरिने
आज सुरु हुने ला लिगामा एक मिनेटको मैन धारण हुनेछ। रोयल स्पोनिस फुटबल फेडेरेसन र ला लिगाले सोमबार लिगको हरेक खेलमा कोरोनाले मृत्यु हुनेलाई श्रद्धाञ्जली दिइनेछ। जसका लागि एक मिनेटको मौन धारण हुने छ।
समर्थकको स्वर रंगशालामै सुनिने, घरेलु जर्सीमा भर्चुअल समर्थक
स्पेन सरकारले सबै प्रतियोगिता खाली रंगशालामा हुने बताइसकेको छ। त्यसैले लिगले पनि त्यसरी नै प्रतियोगिताको तयारी गरको छ। तर दर्शक र खेलाडीलाई यसको कमी महसुस हुन नदिने प्रविधि ल्याएको आयोजकको दाबी छ।
आयोजकले खेलको प्रत्यक्ष प्रसारणका लागि विशेष तयारी गरेको छ। जसमा दर्शकले घरमै बसेर भर्चुअल रंगशाला देख्नेछन् र समर्थकको स्वर रंगशालामा सुनिने छ। जसका लागि पहिले नै रेकर्ड गरिएको समर्थकको मौलिक आवाज प्रयोग हुनेछ।
ला लिगाले एक वक्तव्यमा भनेको छ, ‘खेलको ब्रोडकास्टरले टेक्नोलोजीको प्रयोग गरेर खाली स्टेडियममा दर्शकको उपिस्थिति देखाउने छ। भर्चुअल समर्थक होम टिमको रंगमा नजर आउने छन्। जब खेल रोकिने छ, तब भर्चुअल दर्शकको पूरा ठाउँ होम टिमको कलरमा रंगिने छ। त्यो समयमा अलग–अलग सन्देश पनि देखाइने छ।’
लिग तालिका
लिगको मार्च ११ मा भएको अन्तिम खेलमा रियल सोसिडाडले आइबरलाई १-० गोलअन्तराले हराएको थियो। त्यसअघि मार्च ९ मा भएको खेलमा रियल मड्रिडले रियल बेटिससँग हारेको कारण उ बार्सिलोना भन्दा पछि परेको थियो।
मार्च ११ सम्मको नतिजाअनुसार बार्सिलोना ५८ अंकका साथ शीर्ष स्थानमा छ। बार्सिलोनाभन्दा २ अंक कम बनाएको रियल मड्रिड दोस्रो स्थानमा छ। तेस्रो र चौथो स्थानमा ४७ र ४६ अंकका साथ क्रमशः सेभिल्ला र रियल सोसिडाड छन्।
लिगको रेलिगेसन जोनमा मालोर्का, लिगानेस र एस्पानोयल रहेका छन्। ला लिगाका २७ चरणका खेल सकिएका छन् भने ११ चरणका बाँकी छन्। अब हुने खेलमा अनिवार्य रुपमा हेल्थ प्रोटोकलको पालना गर्नुपर्ने छ।