काठमाडौं- सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन। कोभिड-१९ ले स्वरुपहरु परिवर्तन गर्दै विभिन्न भेरियन्टहरुको संक्रमण देखिन थालेका छन्।
पछिल्लो समय कोरोनाको एमयू र लामब्डा भेरियन्ट देखिएको छ। उत्तरी आयरल्यान्डमा दुई भेरियन्टका ११ संक्रमितहरु फेला परेको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन्।
आयरल्यान्डमा कोरोना संक्रमितको करिब ९० प्रतिशतमा डेल्टा भेरियन्ट देखिएकोमा पछिल्लो समय ६ जनामा एमयू र पाँच जनामा लामब्डा पुष्टि भएको आइरिस टाइम्सले जनाएको छ।
गत महिना विश्व स्वास्थ्य संगठनले एमयू अर्थात बी.१.६२१ भेरियन्ट पहिलो पटक कोलम्बियामा फेला परेको पुष्टि गरेको थियो। विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार यी भेरियन्टहरु खोप लगाएकाहरुलाई पनि संक्रमण गराउनसक्ने किसिमका रहेको जनाइएको छ।
कोलम्बियामा करिब ३९ प्रतिशतलाई एमयू भेरियन्ट देखिएको छ भने इक्वाडरमा १३ प्रतिशतलाई यस भेरियन्टको संक्रमण भएको पाइएको छ।
विश्व स्वास्थ्य संगठनले भनेको छ, 'एमयू भेरियन्ट पहिलो पटक कोलम्बियामा सन् २०२१ को जनवरीमा देखिएको थियो।'
त्यसैगरि जापानमा पनि लामब्डा भेरियन्टको संक्रमण देखिएको छ। जापानमा अगस्त २४ मा पहिलो पटक लामब्डा भेरियन्टका दुई जना संक्रमित फेला परेको जापानी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पहिलो पटक लामब्डा भेरियन्टको संक्रमण अगस्त २०२० मा पेरुमा देखिएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ। डब्लूएचले यो संक्रमण तीव्ररुपमा फैलिने र एन्टिबडी विकास भएकाहरुमा पनि यसको जोखिम हुने जनाएको छ।
डब्लूएचओको तथ्यांक अनुसार हालसम्म विश्वभरका २९ मुलुकहरुमा लामब्डा भेरियन्टको संक्रमण फैलिइसकेको छ। - एजेन्सीहरुको सहयोगमा