काठमाडौं - नेपाली फुटबलमा उल्लेख्य योगदान दिएका ललित कृष्ण श्रेष्ठको स्मृतिमा हुने ललित स्मृति यू–१८ फुटबल प्रतियोगिता कोरोनालेउ त्पन्न असहज परिस्थितीका कारण हाललाई स्थगित गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार विज्ञप्ति जारी गर्दै अवस्था सामान्य भएपछि प्रतियोगिता सञ्चालन हुने बताएको छ।
एन्फाले जारी गरेका विज्ञप्तिमा भनिएको छ, ‘विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९को महामारीका कारण असहज परिस्थिती सिर्जना भएको छ। जसकारण समयमै प्रतियोगिता आयोजना गर्न असमर्थ भएकोले परिस्थिती सहज भएपश्चात् प्रतियोगितालाई अझै व्यवस्थित र व्यापक रुपले राष्ट्रियस्तरमा नै सञ्चालन गरिने छ।’
एन्फाले बिहीबार श्रेष्ठको पाँचौ स्मृति दिवसमा एक कार्यक्रम गर्दै उनको सम्झनासमेत गरेको छ। एन्फाका कर्मचारीले उनको अर्धकदको मुर्तीमा माल्यार्पण गरेका थिए। एन्फाका कार्यबाहक सदस्यसमेत रहेका श्रेष्ठको पाँच वर्षअघि उनकै निवासमा करेन्ट लागेर मृत्यु भएको थियो।