प्रधानमन्त्री केपी शर्मा ओलीले निजी स्वास्थ्य संस्थालाई पनि कोरोना भाइरस परीक्षण गर्न दिइने गरी निर्णय हुने बताएका छन्।
प्रतिनिधिसभामा विनियोजन विधेयक २०७७ माथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आज दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी हेरफेर गर्ने जानकारी पनि दिए।
कोभिड–१९ को नियन्त्रणका लागि सरकार प्रभावकारी ढङ्गले लागिपरेको दाबी गर्दै प्रम ओलीले भ्रष्टाचार हुन नदिने दोहोर्याए।
प्रधानमन्त्री ओलीले भारतबाट रेल तथा बसमा खाँदिएर मानिसहरु आएकाले नेपालमा संक्रमण बढी फैलिएको उनको तर्क छ।
विनियोजन विधेयक २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले क्वारेन्टिनको प्रबन्ध राम्रो नभएकाले संक्रमण फैलिएको इन्कार गरे।