प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण, महामारीले जनतामा परेको असर समाधानका लागि सरकारले चाल्नुपर्ने कदमलगायतका बारेमा कांग्रेसले बुधबार सरकारको ध्यानाकर्षण गराएको हो।
वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गोपालमान श्रेष्ठ, डा.प्रकाशशरण महत, बालकृष्ण खाँड र रमेश लेखक सम्मिलित टोलीले प्रधामन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
नेपालमा कोभिड १९ को महामारी, त्यसबाट उत्पन्न परिस्थिति, तत्कालिन एवं दीर्घकालिन प्रभाव र नेपाल सरकारको भूमिका र तत्काल गर्नु पर्ने कार्य बारे निर्णय गर्दै काँग्रेसले सोही अनुसार सरकारको ध्यानाकर्षण गराएको छ।
नेपाली कांग्रेसको निरन्तरको सहयोग, संचार माध्यम, नागरिक समाज र आम जनताको साथले सृजना गरेको अनुकूलताको वावजुद पनि सरकारको अकर्मण्यता, असक्षमता, असंवेदनशीलताको कारण कोरोना संक्रमण विरुद्धको लडाईमा अनपेक्षित क्षति वेहोर्न परेको ध्यानाकर्षण पत्रमा उल्लेख छ।
काँग्रेसलगायतको सुझावलाई मनन गरेर समयमा उपयुक्त कदमहरु चालिएको भए यस्तो अवस्था कदाचित हुने काँग्रेसले जनाएको छ।
समयमा सामग्रीको आपुर्ति नभएको, विश्वब्यापी रुपमै भरपर्दो नदेखिएको र्यापिड टेस्ट अहिलेसम्म भईरहेको र पिसिआर विधिवाट अत्यन्त न्यून (जम्मा ०.३२ प्रतिशत मात्र) परिक्षण हुनु दुखद भएको सो पार्टीले जनाएको छ।
देशभरिनै क्वारेन्टिन साह्रै अव्यवस्थित हुँदा क्वारेन्टिनबाट नै संक्रमण फैलिरहेको औँल्याउँदै ध्यानाकर्षण पत्रमा क्वारेन्टिनमा नै मानिसहरुको मृत्यु हुनु र मृत्युपछि र दाहसंस्कार गरिसकेपछि कोभिड १९ पोजिटिभ देखिने गरेका घटनाले परिक्षणको दयनीय अवस्थालाई उजागर गरेको उल्लेख गरिएको छ।
क्वारेन्टिनमा मानिसको संख्या बढिरहेको तर किट र प्रयोगशालाको अभावमा परिक्षणको गति शून्य प्रायः रहेको भन्दै काँग्रेसले लामो समयसम्म स्वावलाई प्रयोगशालामा राखी ढिलो गरी परिक्षण गर्ने कामले सही परिणाम नआउने खतरा रहेको औँल्याएको छ।
१४ दिन क्वारेन्टिन र आईसोलेसनपछि टेष्टनै नगरि डिस्चार्ज गर्ने अत्यन्त गैर जिम्मेवार नीति लिएको भन्दै सो पार्टीले सरकारको जनताको स्वास्थ्यप्रतिको असंवेदनशीलता भएको जनाएको छ।
आवश्यकताको आधारमा न्यायपूर्ण ढंगले राहतको वितरण नभएको भन्दै काँग्रेसले सरकारले लक डाउनलाई ठिक ढगंले उपयोग गर्न नसकेको औँल्याएको छ।
यस बीचमा सरकारले अस्पतालको क्षमता, गुणस्तर वृद्धि गर्ने तर्फ पटक्कै ध्यान नदिएको तथा कोभिड १९ बाहेकका मुटु, क्यान्सर, फोक्सो, मृगौला, गर्भावस्थामा रहेका महिलाहरुको, चोट पटक लाग्ने लगायतका विभिन्न विरामीहरुको स्वास्थ्य उपचारको उचित व्यवस्थापन हुन सकेको औँल्याएको छ।
सरकारले दश अर्ब खर्च गरे अनुसार काम नदेखिएको भन्दै काँग्रेसले राष्ट्रिय विपतिको अवस्थामा स्वास्थ्य सामग्री खरीदमा पटक पटक अनियमितता तथा भ्रष्टाचार भएको घटनाले सबै नागरिकलाई स्तब्ध बनाएको जनाएको छ।
कमीसनको कारणले सामग्री आपूर्तिमा ढिलो भएकोसमेत उसले आरोप लगाएको छ। सबै भ्रष्टाचार, अनियमीतता बारे छानबिन गरीे तत्काल सार्वजनिक रुपमा खर्चको सम्पूर्ण विवरण सार्वजनिक गर्न पनि काँग्रेसले माग गरेको छ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी र पत्रकारहरु अग्रपंक्तिमा रहेर आफ्नो कार्य सम्पादन गरिरहेका मानिसहरुको न व्यक्तिगत सुरक्षाको उचित प्रबन्ध नभएको भन्दै सो पार्टी उनीहरुलाई प्रोत्साहित गर्ने कुनै नीति, योजना नै सरकारसँग नभएको जनाउको छ।
सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई समयमै स्वदेश ल्याएर कोभिड १९ को परीक्षण गरेको भए अहिलेको अवस्था सृजना नहुने भन्दै काँग्रेसले अहिले पनि सबैको परीक्षण नहुँदा जोखिम बढेको जनाएको छ।
लकडाउनकै कारण साना ठूला हजारौं उद्योग व्यवसाय बन्द हुँदा लाखौं श्रमिक र साना उद्यमी व्यवसायी वेरोजगार भएको औँल्याउँदै उद्योग व्यवसाय तथा कृषि क्षेत्रलाई चलाएमान गर्न र नागरिकको जीवनमा आएको आर्थिक संकटलाई कम गर्न सरकार गम्भीर हुनु पर्नेमा जोड दिएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जेठ २६ गते बसेको बैठकले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो।