काठमाडौं– धनुषामा प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु भएपछि गाउँलेले प्रहरी चौकीमा आक्रमण गरेका छन्।
स्थानीयले ईलाका प्रहरी कार्यालय सबैलामा ढुङ्गामुडा प्रहार गरेका हुन्। स्थानीयले प्रहरीको गाडीसमेत तोडफोड गरेका छन्।
हिरासतमा रहेका २२ वर्षीय शम्भू सदा मुसहर मंगलबार राति शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका थिए।
मुसहरको मृत्यु शंकास्पद भन्दै स्थानीयबासीले बरकुर्वामा सडक अवरुद्धसमेत गरेका छन्। प्रहरीले स्थिति नियन्त्रणमा लिन तीन राउण्ड हवाई फायरसमेत गरेको छ।
धनुषा प्रहरी प्रमुख एसपी रमेशकुमार बस्नेतले स्थिति नियन्त्रणमा लिइसकेको बताए। मुसहर सवारी ज्यान मुद्दामा १५ दिनदेखि प्रहरी हिरासतमा थिए।