सोमबार, भदौ ८, २०८३

‘रोगभन्दा भोकको पीडा सहन कठिन'

सुत्केरीलाई औषधि र पौष्टिक आहारा चाहिएको छ, काखे छोरीभन्दा माथिका चार र पाँच वर्षका दुई छोरीसहित सबैलाई खाना चाहिएको छ। चुलोमा दाउरा नपरेको तीन दिन भइसक्यो।
 |  बुधबार, जेठ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०७७

सप्तरी-  घरबारविहीन भएपछि ससुरालीमा आश्रय लिइरहेका राधेश्याम देव बिहानै निन्याउरो अनुहार लिएर साहुको ऋण तिर्न जोरजार गरी रु १०० बटुलेर घरबाट निस्किए।

२५ वर्षीया सुत्केरी श्रीमती मनोरमालाई स्याहार्न अस्पतालमा बस्दा लिएको ऋण रु ३०० खर्च भएको थियो । यसबीचमा तरकारी बेच्नै नपाउँदा खेतमा नै कुहिएछ। “साहुले  पैसा चाहियो भनेर पटकपटक ताकेता गरेर धम्क्याए।  अर्कोपटक उधारो नदेला भन्ने भयले  रु. १०० भए पनि बुझाउन निस्किएँ”, उनले भने। 

काखमा १९ दिनकी छोरी च्यापेकी मनोरमा चुलो अगाडि टोलाएकी छन्। उनीले भनिन्,  “कसैले असहायका लागि चामल बाँडेको छ कि खाना खुवाउँदैछ भनेर भौतारिरहेका होलान्। गएको चार घण्टा भयो,  अहिलेसम्म फर्किएका छैनन्।”

घरका सबैजना राधेश्यामको पर्खाइमा छन्। सुत्केरीलाई औषधि र पौष्टिक आहारा चाहिएको छ, काखे छोरीभन्दा माथिका चार र पाँच वर्षका दुई छोरीसहित सबैलाई खाना चाहिएको छ। चुलोमा दाउरा नपरेको तीन दिन भइसक्यो।

“एकछिन् भोक सह, खाना आइहाल्छ”, मनोरमाले छोरीहरूलाई आश्वासन दिइन्। यो सुनेर माइली छोरी घरअगाडि बुवा आउने बाटोमै गएर पर्खिन थालिन्।

सुख त यिनलाई पहिले पनि थिएन। विषहरिया गाउँबाट उठिवास भएपछि राजविराज आएका उनीहरूले बजारकै साहुजीसँग रु दुईतीन सयको तरकारी किनेर बेच्न थाले, कहिले केरा बेच्थे। तर लकडाउन सुरु भएपछि राम्ररी बेच्न पाएका छैनन्। लुकीछिपी बेचेको थाहा पाएर आउने प्रहरीको सङ्केत पाएपछि भागाभाग गर्नुपर्थ्याे। भाग्न नसके लाठीको कुटाइ खानुपर्थ्याे।

मनोरमा भन्छिन्, “बिहान, दिउँसो पोसाकमा आएर लघार्थ्याे, साँझ सादा पोसाकमा तरकारी किन्न आउँथ्यो।”

लकडाउन नहुँदा हातगोडा चलाएर जसोतसो दिन बितिरहेकै थिए। यसोउसो गरेर छोरीहरूको मुखमा माड लागेको थियो। ठ्याक्कै देशमा लगडाउन सुरु भएसँगसँगै उनको पेटमा पनि लकडाउन भइदियो।

घरभाडा तिर्न नसकेर राजविराज–७ थानगाछीबाट निकालिएपछि मनोरमा सपरिवारका साथ सप्तरीको विष्णुपुर गाउँपालिका–६ स्थित माइत आएर बसेकी छन्। माइतमा एक्ली वृद्ध आमामात्र छिन्। 

देव दम्पतीले हातमुख जोड्नका लागि संघर्ष गर्न राजविराजबाहेक अर्को ठाउँ देखेका छैनन्। राधेश्यामले बल्ल मुख खोले, “हाम्रो त जाने ठाउँ पनि छैन, अर्को सीप पनि छैन, भोकले मरे पनि रोगले मरे पनि अब यहीँ मर्ने हो।”

मनोरमा यसैबेला सुत्केरी भएकी छन्। बर्सेनि दुई छोरी भएको चार वर्षपछि फेरि छोरी भएको छ। सुत्केरी भएको एक सातामै निकै बिरामी परेर अस्पताल भर्ना भइन्।

अस्पतालको १० दिनको बसाइपछि झोलाभरि चिकित्सकले लेखिदिएको पुर्जा लिएर फर्केकी छिन्। भोको पेटसँग अब धेरै जुध्न सकिन्न भन्ने लागेको उनले हरेश खाएकी छिन्।

मनोरमाको नागरिकता, विवाह दर्ता छैन, छोरीहरूको जन्मदर्ता पनि छैन। यसको जरुरी नै परेको छैन उनीहरूलाई। एकमुठी सास र सँगै हुर्किरहेका छोरीको जीवन बचाउने अभिभारा नै पूरा गर्न नसक्ने अवस्थामा छन् देव दम्पती। मनोरमाको तरकारी बेच्ने काम रोकियो तर रोग र भोक रोकिएन।         

“सुरुसुरुमा त सँगै फोटो खिचिदिएवापत राहत दिनेहरू पाइएको थियो”, एकपटक आफूले पनि राहत थापेको स्मरण गर्दै राधेश्याम भन्छन्, “‘खाली हात घर जान मन नलागेर त्यस्ता मानिस भेटिन्छन् कि भनेर बजारमा भौंतारिएको थिएँ, पाइएन।”

गाउँमै सरकार र सिंहदरबारको कुरा उनले पनि सुनेका छन्। स्थानीय सरकारले वडामा रहेका गरिब मजदुरको लगत संकलन गर्यो। सरकारले बाँडेको राहत सबैलाई दिनुपर्छ भनेर धनीले पनि मागेपछि वडाका एक हजार १९१ परिवारलाई १५ किलो चामल, दुई किलो दाल, एकएक किलो नुन र खानेतेल वितरण हुने भयो।

वडाका १५ परिवारबाहेक धनी–गरिब सबैले राहत लिँदा वास्तविक गरिबको भागमा थोरै राहत पर्न गएको राहत वितरण सर्वदलीय समितिका सदस्य अशोककुमार यादवले बताए। लकडाउनको ७६ दिनको अवधिमा एकपटक राहत वितरण भएपछि दोस्रोपटक राहत वितरण भएको छैन।

बाँसको टाँट र माटोले बनेको सानो झुपडीको एउटा कोठामाथिको छानो छैन। बर्खाको झरी र हिउँदको घामले चुहिने अर्को एउटा कोठामा रहेको खाटमा सपरिवार सुत्छन्। सुत्केरी मनोरमालाई पोषणयुक्त खाना खाने कुरा त परै जाओस् घरमा साँझ बिहानको छाक कसरी टार्ने भन्ने चिन्ता छ।

गरिबी, बेरोजगारी त्यसमाथि सुत्केरी र बिरामीले खुबै सताएको। काखमा १९ दिनकी छोरी च्यापेकी मनोरमाले आँखाभरि आँसु लिँदै भनिन्, “भोकको पीडा त खप्नै पो नसकिने हुन्छ।”-रासस

प्रकाशित: Jun 10, 2020| 09:20 बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।