काठमाडौं- नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रणमा सरकार सअफल भएको ठहर गरेको छ। पार्टी केन्द्रीय कार्य समितिको सोमबार बसेको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने निर्णय भएकाे छ।
केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेका अनुसार बैठकमा क्वारिन्टनको सुधार, कोरोना भाइरस परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने, विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउने, रोकिएको राहत प्रबन्ध थप व्यस्थित गर्दै सञ्चालन गर्नुपर्ने, स्वास्थ्य उपकरण खरिदमा भएको भ्रष्टाचारलगायतको प्रस्तावमा छलफल भएको छ।
बैठकमा केन्द्रीय सदस्यहरुले सरकारले लकडाउनबाहेक अरु केही गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए। त्यसपछि बैठकले महामारी नियन्त्रण र जनतालाई राहत दिलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको एक केन्द्रीय सदस्यले बताए।
केन्द्रमा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने छन् भने ७७ जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइने निर्णय भएको छ।
कोरोनाबाट प्रभावित उद्योगी व्यवसायी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, स्थानीय तहका जनप्रतिनिधि र सञ्चारकर्मीलगायत कोभिड–१९ विरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर काम गर्नेका विशेष राहत प्याकेज ल्याउन कांग्रेसले माग गर्दै आएको छ।