प्रदेश २ मा एकैदिन १७४ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सोमबार सबैभन्दा बढी सर्लाहीमा १२० जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि भएका सबैजना क्वारेन्टिनमा बसेकाहरु रहेको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी सप्तरीमा १६, महोत्तरीमा १२, रौतहटमा ११, बारामा ७ र पर्सामा ८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ । सप्तरी, महोत्तरी, रौतहट, बारा र पर्सामा संक्रमण पुष्टि भएका व्यक्तिहरु पनि क्वारेन्टिनमै रहेको मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा संक्रमित थपिएसँगै हालसम्म सबैभन्दा बढी रौतहटमा ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी सर्लाहीमा ३७०, सप्तरीमा ९२, धनुषामा ९२, महोत्तरीमा १८३, बारामा ७७ र पर्सामा ११९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
संक्रमण भएर उपचारपछि २२६ जना निको भएर घर फर्किइसकेका छन् भने प्रदेश २ को विभिन्न जिल्ला गरी २० हजार ९०२ जना क्वारेन्टिनमा, ५ हजार ७१३ जना होम क्वारेन्टिन र ७६५ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । स्वाब संकलन भइसकेका १२ हजार ३८० जनाको पीसीआर नतिजा आउन बाँकी रहेको छ ।