काठमाडौं- वैदेशिक रोजगारीका क्रममा साउदीमा ज्यान गुमाएका नागरिकको शव तत्कालै स्वदेश लैजान त्यहाँको सरकारले पत्राचार गरेको छ।
आफ्नो देशमा मृत्यु भएका नेपालीहरुको शव तत्काल स्वदेश लैजान साउदी सरकारले त्यहाँस्थित नेपाली दूतावासलाई पत्राचार गरेको हो।
साउदीको विदेश मन्त्रालयले दूतावासलाई पत्र पठाउँदै कोरोना संक्रमण वा अन्य कारणबाट ज्यान गुमाएका नेपालीको शव तत्काल लैजान पत्राचार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सूचना अधिकारी सुरेश अधिकारीले कोरोना संक्रमणका कारण ज्यान गुमाएकाहरुको शव ७२ घण्टाभित्र र अन्य कारणबाट ज्यान गुमाएकाको शव १४ दिनभित्रमा आफ्नो देश लैजान साउदी सरकारले भनेको जानकारी दिए।
अधिकारीका अनुसार साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपूतले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर त्यहाँको सरकारले शव लैजान ताकेता गरेको छ।
उनले शव नेपाल लैजाने या साउदीमै अन्त्यष्टि गर्ने बारेमा तत्काल पहल गरिदिन परराष्ट्र मन्त्रीलाई भनेका छन्।
कोरोनाका कारणले यस्तो अवस्था सृजना भएको भन्दै साउदी सरकारले यदि यो अवधिमा शव नउठाए त्यहीँ अन्त्येष्टि गरिदिने दूतावासलाई जानकारी गराएको छ।
दूतावासका अनुसार साउदीमा ७५ नेपालीको शव छ। वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार शुक्रबारसम्म साउदीमा कोरोनाबाट ९ जना नेपालीको ज्यान गएको छ।
हालसम्म ७ वटा शव साउदीमै अन्त्येष्टि गर्न परिवारबाट सहमति प्राप्त भैसकेको बोर्डले जनाएको छ।
कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा साउदीबाट झण्डै तीन महिनादेखि नेपालीको शव ल्याउन सकिएको छैन।