सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ को नीति तथा कार्यक्रम : सत्तापक्षकै नेता असन्तुष्ट

प्रदेश २ को नीति तथा कार्यक्रम : सत्तापक्षकै नेता असन्तुष्ट

प्रदेश २ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिपक्षी र सत्ता पक्षधर सांसद असन्तुष्ट देखिएका छन्।
 |  सोमबार, जेठ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०७७

जनकपुरधाम- प्रदेश २ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिपक्षी र सत्ता पक्षधर सांसद असन्तुष्ट देखिएका छन्।

सरकारले औपचारिकता पूरा गर्न मात्र नीति तथा कार्यक्रम ल्याएको उनीहरुको टिप्पणी छ। आइतबार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख तिलक परियारले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

सत्ता पक्षधर राजपा नेपालका प्रदेशसभा सदस्य मनीष सुमन नीति तथा कार्यक्रम कर्मकाण्डीमात्र रहेको टिप्पणी गरे। मुख्यमन्त्री, सभामुखलगायतका नाममा कार्यक्रम राखेर उनीहरुलाई खुसी पार्ने प्रयासमात्र गरिएको भन्दै उनले कार्यान्वयनको सम्भावना नरहेको बताए।

‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमका लागि धन्यवाद दिऔं भने यो पुरानै कार्यक्रम हो, कोभिड–१९ को लागि सरकारले बजेट विनियोजन गर्न सक्ने अवस्था छैन,’ सुमन भन्छन्, ‘गत वर्ष १२ प्रतिशत रकमसमेत सरकारले खर्च गर्न सकेन। पछिल्लो वर्ष पनि ठूला अस्पताल निर्माण गर्ने कुरा नीति तथा कार्यक्रममा राखिएको थियो। खोइ त अस्पताल बनेको?’

उनले नीति तथा कार्यक्रममाथि विश्वास गर्नु सरासर गलत हुन बताए।

‘बोलेको कुरा बजेटमा समावेश गरेर चालू आर्थिक वर्षमै पूरा गर्नु विश्वसनीय हुन्छ। पूरा नगरे प्रश्नचिह्न उठ्छ,’ सुमनले भने, ‘यही सरकारले तीनपटक नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ। पाँच प्रतिशत पनि लागू भएको छैन। अहिले ल्याएको नीति तथा कार्यक्रमको अवस्था पनि उस्तै हुनेछ।’

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाइने नीतिप्रति पनि उनले प्रश्न उठाए। मन्त्रीहरुको व्यवहारका कारण भ्रष्टाचारप्रति सरकार शून्य सहनशीलताको नीति अवलम्बन गर्ने कुरा पत्यारलाग्दो नरहेको सुमनको भनाइ छ।

‘अपारदर्शी तरिकाबाट सामाजिक विकास मन्त्रालयमा सामान खरिद भइरहेको छ,’ उनले भने, ‘योगी भ्रमणदेखि हालसम्मका सबै काम अपारदर्शी तरिकाले भएको छ। खर्चको विवरण सार्वजनिक गर्न सरकार तयार छैन। सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने फट्याइँबाहेक अरु केही होइन।’

कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई झुटको पुलिन्दा भनेका छन्। सरकारको नीति तथा कार्यक्रममा आश्वासनबाहेक अरु केही नरहेको भन्दै यादवले सरकारले पाना भर्ने काममात्र गरेको बताए।

‘सरकारले नीति तथा कार्यक्रममा प्राथमिकता छुट्याउन सकेको छैन। भएभरको सबै थोक समावेश गरेको छ,’ उनले भने, ‘नीति तथा कार्यक्रमअनुसार बजेट आउने सम्भावना देखिँदैन। त्यसैले यो झुटको पुलिन्दामात्र हो।’

यादवले कोरोना महामारी सरकारको नीति तथा कार्यक्रमको प्राथमिकतामा नपर्नु दुःखद रहेको बताए। ‘प्रदेश कोरोना महामारीमा फसेको छ, क्वारेन्टिन पुगेको छैन। आइसोलेसन बेड अभाव छ। पीसीआर परीक्षण पर्याप्त मात्रामा हुन सकेको छैन्,’ उनले भने, ‘सरकारको ध्यान कोरोनातर्फ हुुनुपर्दथ्यो तर नीति तथा कार्यक्रममा त्यस्तो देखिएन।’

नीति तथा कार्यक्रममा सरकारले शब्दजालमा सबैलाई अल्झाउने प्रपञ्चमात्र गरेको उनको भनाइ छ। नीति तथा कार्यक्रमअनुसार बजेट आउनेमा आफूहरु विश्वस्त नरहेको यादवले बताए।

नेकपाका संसदीय दलका उपनेता शत्रुध्न महतोले नीति तथा कार्यक्रम समय सापेक्ष नरहेको भन्दै संशोधन दर्ता गराउने बताए। ‘नीति तथा कार्यक्रम कोरोनालाई प्राथमिकतामा राखेर आउनुपर्दथ्यो,’ उनले भने, ‘स्वास्थ्य क्षेत्र, कृषि प्राथमिकतामा रहनुपर्दथ्यो तर त्यस्तो केही देखिएन।’

‘कृषिलाई प्राथमिकतामा राखेर रोजगारीको अवस्था सिर्जना गर्न हामीले सरकारलाई सुझाव दिएका थियौं,’ उनले भने, ‘पाना भर्ने काम नगर्न भनेका थियौं। तर, सरकारले संसारको सबै विषय नीति तथा कार्यक्रममा समावेश गरेको छ।’ नीति तथा कार्यक्रमअनुसार पैसा विनियोजन गर्दा एउटा कार्यक्रमलाई हजार रुपैयाँ पर्ने सम्भावना पनि नदेखिएको महतोले बताए।

महतोले परिमार्जन नगरे नीति तथा कार्यक्रम पारित गराउन सहयोग गर्न नसकिने बताए। ‘अहिले कोभिड र कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने थियो, भए भरको सबै कुरा समावेश गर्नुपर्ने जरुरी थिएन,’ महतोले भने, ‘नीति तथा कार्यक्रम परिमार्जन हुनुपर्ने हाम्रो धारणा छ।’

नेकपाकै अर्का प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले नीति तथा कार्यक्रम आवश्यक्ताभन्दा बढी महत्त्वाकांक्षी र शीर्षकै शीर्षकले भरिएको मात्र रहेको टिप्पणी गरे। आर्थिक मितव्ययितालाई ध्यान दिनुपर्ने ठाउँमा समितिहरु बनाउने नाममा थप खर्चको बाटो खोलिएको उनले बताए।

सरकारको गत वर्षकै नीति तथा कार्यक्रम कार्यान्वयन हुन नसकेको भन्दै मण्डलले अहिलेको नीति तथा कार्यक्रम पनि कार्यान्वयन हुने कुनै सम्भावना नरहेको जिकिर गरेका छन्। नीति तथा कार्यक्रम ल्याउँदा सरकारले आफ्नो बजेटको सिलिङलाई समेत ध्यान नदिएको उनको भनाइ छ।

प्रकाशित: Jun 08, 2020| 16:40 सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।