काठमाडौं- खानेपानी मन्त्री बिना मगरले आगामी आर्थिक वर्षको सुरुमै मेलम्चीको सुरुङको परीक्षण गरिने बताएकी छन्।
उनले आगामी आर्थिक वर्षमा मेलम्चीको पहिलो चरणको भौतिक निर्माणको काम सम्पन्न हुने भएकोले सूरुङको परिक्षण पनि आगामी वर्ष नै गर्ने दाबी गरेकी हुन्।
उनले भनिन्, ‘आगामी आर्थिक वर्षमा नै सुरुङको परिक्षण गरी काठमाडौं उपत्यका खानेपानी लिमिटेडको क्षेत्रभित्र मेलम्चीको पानी वितरण गरिने छ, मेलम्ची आयोजनाको अधिकांश काम सकिसकेको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत उठेका प्रश्नहरुको उत्तर दिने क्रममा उनले मेलम्चीमाथि वर्षौंदेखि उठ्दै आएका प्रश्नको आगामी वर्ष मेलम्चीको पानी वितरण गरेर उत्तर दिने बताईन्।
मन्त्री मगरले आगामी आर्थिक वर्षमा ९४ प्रतिशत जनतामा आधारभूत खानेपानीको पहुँच पुर्याउने पनि दाबी गरिन्। त्यस्तै पहिलोपटक खानेपानी विधेयक संसदमा प्रस्तुत भएको र छिटै कानूनको रूपमा आउने विश्वाससमेत व्यक्त गरिन्।
त्यस्तै उनले तराई क्षेत्रमा वर्षेनी खानेपानीको समस्या हुने गरेकोले दीर्घकालीन योजनाका साथ मन्त्रालय अगाडि बढेको बताइन्।
उनले तराईका जिल्लामा भएको खानेपानी समस्याको तत्काल सपमाधानका लागि ‘वास’ प्लान अनुसार काम गर्ने र दीर्घकालीन योजनामा मेचीदेखि महाकालीका खोलाहरुको सम्भाव्यता अध्ययन गर्ने गरी काम अगाडि बढाएको स्पष्ट पारिन्।