इंग्ल्यान्डको महिला शीर्ष फुटबल लिग(महिला सुपर)को उपाधि चेल्सीले जितेको छ। उसले औषत अंंकका आधारमा अगाडि रहेर लिगको उपाधि जितेको हो।
मार्च १३ मा लिग रोकिँदा लिगको अंक तालिकाको शीर्ष स्थानमा म्यान्चेस्टर सिटी थियो। म्यान्चेस्टर सिटीले १६ खेलबाट ४० अंक जोड्दा एक खेल कम खेलेको चेल्सी ३९ अंकका साथ दोस्रो स्थानमा थियो। उसले एक खेल कम खेलेका कारण औषत अंक धेरै भएको हो।
त्यस्तै, लिग तालिकाको पुछारमा रहेको लिभरपुल रेलिगेसनमा परेको छ। उसले १४ खेलबाट ६ अंक मात्र जम्मा गर्न सफल भएको थियो।
गत मे २५ मा फुटबल एसोसिएसनले आपतकालीन नतिजाका साथ सिजन समाप्त गरिने बताएका थिए। फुटबल एसोसिएसनको बहुमतले नै ‘प्रति खेलको औषत अंक’को आधारमा तालिका निर्धारण गर्ने निर्णय गरेको थियो।
अर्को सिजनको महिला च्याम्पियन्स लिगमा इंग्ल्यान्डका तर्फबाट चेल्सी र म्यान्चेस्टर सिटी सहभागी बन्नेछन्।
एजेन्सी