काठमाडौं- आइतबार मृत्यु भएका विराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलालको उनकै पत्नीले हत्या गरेको खुलेको छ।
पत्नी मीना श्रेष्ठले परपुरुषसँगको आफ्नो सम्बन्ध बारे थाहा पाएपछि पति दुलालको हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको हो।
प्रहरीले हत्यामा संलग्न भएको आरोपमा मीनासँगै अर्का युवक ब्रम्हदेव साहलाई पनि पक्राउ गरेको छ। पक्राउ परेका साह दुलालले सञ्चालन गर्ने माँ देव पाथीभरा फर्माका पूर्वकर्मचारी हुन्।
उनै साह र मीनाबीच सम्बन्ध रहेको कुरा दुलालले थाहा पाएपछि मीनाकै योजनामा उनको हत्या गरिएको मोरङ प्रहरी स्रोतले जनाएको छ।
मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले हत्यामा अरुको पनि संलग्नता देखिएकोले पक्राउको तयारी भैरहेको जानकारी दिए। ‘दुलालको हत्या नै भएको हो, यसमा संलग्नहरु अरु पनि देखिएकाले पक्राउको तयारीमा छौँ’ अधिकारीले भने, ‘घटनाको यथार्थ हामी छिट्टै बाहिर ल्याउने छौँ।’
साह र मीनाबीचको सम्बन्धका बारेमा दुलालले केही पहिले मात्र थाहा पाएको प्रहरी स्रोतले जनाएको छ। त्यसपछि दुबै जनाबीच विवाद बढेको थियो।
मीनाले राती करिब पौने ३ बजे तिर बजे उठेर हेर्दा दुलाल अचेत अवस्थामा देखेपछि छिमेकी र दुलालका साथीलाई खबर गरेर एम्बुलेन्समा गोल्डेन अस्पताल पुर्याएको प्रहरीलाई बताएकी छिन्।
प्रहरीका अनुसार शनिबार राती दुलालसहित औषधि ववसायी हरिमोहन श्रेष्ठ र धनबहादुर काफ्लेले करिब ९ बजेसम्म मदिरा सेवन गरेका थिए। साथीहरु निस्किएपछि पनि दुलालले थप मदिरा सेवन गरेको खुलेको छ।
दुलाल त्यो रात छुट्टै ओछ्यानमा र पत्नी मीना र ८ वर्षका छोरा अर्को ओछ्यानमा सुतेका थिए।
दुलाल सुतेकै समयमा घाँटीमा डोरीले कसेर हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ। हत्यामा प्रयोग भएको डोरी दुलालको घरनजिकै झाडीमा भेटेको पनि प्रहरीले जनाएको छ।
दुलालको घाँटी, निधारलगायतका बिभिन्न भागमा चोट देखेपछि प्रहरीले मृत्यु शंकास्पद ठानेर अनुसन्धान थालेको थियो।
सुरुमा मीना र दुलालसँगै बसेर मदिरा सेवन गर्ने साथीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले घट्नामा अन्यको पनि संलग्नताको आशंका गरेको छ।