वीरगञ्ज- रौतहटको इशनाथ नगरपालिका ३ औरैयाको क्वारेन्टिनमा रहेका ७ जना संक्रमित एक साताअघि मात्रै भारतबाट आएको खुलेको छ।
इशनाथ नगरपालिकाका मेयर सन्तोषकुमार मेहताका अनुसार भारतबाट आएका २७ जना औरैयाको क्वारेन्टिनमा थिए । उनीहरुलाई सीमाबाट सोझै क्वारेन्टिनमा लगेर राखिएको थियो।
इशनाथ नगरपालिकाका पाँच स्थानमा बनाइएका क्वारेन्टाइनमा अहिले २५० जनालाई राखिएको छ। संक्रमित देखिएकामध्ये तीन जनालाई गौर अस्पतालको आइसोलेसनमा राखिएको छ भने अन्यलाई पनि अस्पताल लैजाने तयारी भइरहेको छ।
यस्तै माधवनारायण नगरपालिका २ की २८ वर्षकी महिलाका पति केही दिनअघि भारतबाट लुकिछिपी आएको खुलेको छ। उनलाई पतिबाटै संक्रमण फैलिएको हुनसक्ने माधवनारायण नगरपालिकाका मेयर वीरेन्द्रप्रसाद यादवले बताएका छन्। ती महिला पनि क्वारेन्टिनमा थिइन् ।
रौतहटमा संक्रमितको संख्या २१ पुगेको छ।