काठमाडौं- नेपाली कांग्रेसले कयौं दिनदेखि भारतसँगका विभिन्न सीमा नाकामा अलपत्र नेपाली नागरिकलाई तत्काल स्वदेश प्रवेश गराइ दायित्व पूरा गर्न सरकारसँग माग गरेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति प्रकाशित गरी यस्तो माग गरेका हुन्। उनले भनेका छन्, 'भारत सरकारले रेल र बस मार्फतको सुविधा दिएपछि भारतको विभिन्न शहरबाट यसरी नाकामा आइपुगेका नेपालीलाई प्रवेश गराउने बारे संघीय सरकारले प्रस्ट नीति तय गरेर निर्देशन जारी नगर्दा कतिपय नाकाबाट प्रवेश गराइएको विवरण प्राप्त छ भने कयौं नाकामा प्रवेश नपाएर नेपालीहरु अलपत्र स्थितिमा छन्।'
उनले जोखिम रहित ढंगले प्रवेश गराउन सरकारले तत्काल गम्भीरतासाथ पहल नगर्ने हो भने खाने—बस्ने कठिनाइमा हजारौं नेपाली दसगजा क्षेत्रमा थप प्रताडित हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
शर्माले भनेका छन्, 'अर्कातर्फ लुकिछिपी नेपाल प्रवेश गर्ने कतिपयको प्रयत्नले कोरोनाको जोखिम झनै बढ्नेछ। अतः नाकामा आइपुगेका सबै नेपालीलाई ब्यवस्थित ढंगले प्रवेश गराउन तथा उचित क्वारेन्टाइनमा कडाइका साथ राखेर परिक्षण पश्चात् सुरक्षित रूपमा घर पुर्याउने प्रबन्ध गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई आग्रह गर्दछ।'
कंग्रेसले लुकिछिपी प्रवेशबाट संक्रमण फैलिन योगदान पुगेको परिदृश्य स्मरण गर्दै सतर्कता र उच्च मानवीय भावना साथ सरकार हुनुको दायित्व निर्वाह गर्न सरकारलाई आग्रह गरेको छ।