काठमाडौं- कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको तरिका (मोडालिटी) परिवर्तन गर्ने निर्णय गरेको छ।
आज (शुक्रबार) बसेको समितिको बैठकले जेठ ६ गतेपछि मोडालिटी परिवर्तन गर्ने निर्णय गरे पनि त्यो ठ्याक्कै कस्तो हुने भन्ने चाहिँ खुलाएको छैन। यसअघि सरकारले ५ गतेसम्म मुलुकभरी लकडाउन गरेको छ।
स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल गरेको समितिले जोखिमका क्षेत्र छुट्याएर लकडाउनको तरिका परिवर्तन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो ।
समितिले उच्च जोखिम भएको क्षेत्र, मध्यम जोखिमको क्षेत्र र न्यून जोखिमको क्षेत्रको छुट्टयाएर बेग्लाबेग्लै तरिकाले लकडाउन गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए।
समितिले अध्ययन वा अन्य कामका लागि जापान र हङकङमा रहनुपर्ने तर, लकडाउनका कारण नेपालमै रोकिएका नागरिकलाई चार्टर्ड उडानमार्फत् त्यसतर्फ पठाउने पनि निर्णय गरेको छ। सचिव बिडारीले जापान जान पर्ने ६०० र हङकङको आइडीप्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रकृया पुरा गरी पठाउने निर्णय भएको बताए।
आज भएको छलफलमा स्वास्थ्य विज्ञहरूले परीक्षण, कन्ट्याक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको व्यवस्थापन राम्रोसँग गर्नुपर्ने सुझाव दिएका छन्।
समितिले नेपाल चिकित्सक संघका अध्यक्ष लगायतका विशेषज्ञहरुसँग छलफल गरेको थियो ।