काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सरकारले आज ल्याउन लागेको नीति तथा कार्यक्रममाथि छलफल गरेर सकिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न संघीय संसदका दुवै सदनको संयुक्त वैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम छ।
त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय सदस्यहरूको सुझाव लिन बैठक बोलाएका थिए।
बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले नीति कार्यक्रमबारे सदस्यहरुले महत्वपूर्ण सुझाव दिएको बताए। यद्यपि सरकारको नीति तथा कार्यक्रम सबै तयार पारिसकेपछि अन्तिम अवस्थामा बैठक डाक्नुको कुनै औचित्य नरहेको भन्दै सचिवालयमा प्रधानमन्त्रीको आलोचना भएको एक सदस्यले जानकारी दिए।
प्रवक्ता श्रेष्ठका अनुसार सचिवालय बैठकमा स्थायी कमिटी बैठक नीति तथा कार्यक्रमपछि बोलाउने समझदारी भएको छ।
यसअघि दुई पटक स्थगित भएको स्थायी कमिटी बैठक बोलाउने विषयमा नीति तथा कार्यक्रमपछि अध्यक्षद्वय र सचिवालय बैठकमा छलफल भएपछि बैठकका विषयमा टुंगो लाग्ने उनले जानकारी दिए।