आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खुला सीमा दुवै देशको हितमा छैन, तारबार लगाऔँ : साझा पार्टी

खुला सीमा दुवै देशको हितमा छैन, तारबार लगाऔँ : साझा पार्टी

द्विपक्षीय वार्तामा ढिलाइ हुने अवस्था भएमा सीमा विवाद नभएका ठाउँमा नेपालले एकतर्फी रूपमै तारबार लगाउन पहल गर्न समेत साझा पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

खुला सीमा र अव्यवस्थित आवागमन नेपाल र भारत दुवै मुलुकको हितमा नभएकोले सीमामा तारबार लगाउन साझा पार्टीले माग गरेको छ।

पार्टीले आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै भनेको छ, 'नेपाल भारत खुला सिमानालाई सदीयौंदेखि दुई देशबीचको घनिष्ठ सम्बन्धको नमूनाका रुपमा हेरिँदै आएको थियो। पछिल्लो समयमा भने दुवै मुलकका विकासका आकांक्षा, राष्ट्रिय सुरक्षाका चुनौति, अर्थतन्त्रको व्यवस्थापन, सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन लगायतका पक्षलाई ध्यानमा राख्दा खुला सीमा र अव्यवस्थित आवागमन दुवै मुलुकको हितमा छैन भन्ने साझा पार्टीको ठहर छ।'

खुला सिमानाको अवधारणाले गर्दा दुई देशबीचको सीमा निर्धारणका प्राविधिक कार्य समेत प्राथमिकतामा नपरेको पार्टीकोे भनाइ छ। विज्ञप्तिमा भनिएको छ, 'सयौँ सीमा स्तम्भहरू हराएका छन्। दर्जनौँ सीमा स्तम्भहरू रातारात नेपाली भूभागतर्फ सारिएका छन्। कैयौँ ठाउँमा नेपालको लालपूर्जा हुँदाहुँदै नेपालीहरूले भूमिमाथिको स्वामित्व गुमाएका छन् र ती भूमिमा भारतीयहरू खेतीकिसानी गर्छन्। कैयौँ ठाउँमा अन्तर्राष्ट्रिय कानून विपरीत सिमानामा बाँध तथा सडकहरू निर्माण गरिएका छन्, जसले गर्दा नेपाली भूभाग तथा वस्तीहरू वर्षायाममा जलमग्न हुने गर्दछन्। त्यतिमात्र होइन, सीमाक्षेत्र नजिक बस्ने धेरै नेपालीहरू भारतीय सीमा सुरक्षा बलको ज्यादतीबाट आक्रान्त छन्।'

पछिल्लो समयमा भारतले कैयौँ ऐतिहासिक दस्तावेज तथा नक्साहरूले प्रमाणित गरेको नेपाल भारत सीमालाई समेत बेवास्ता गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा खुल्लमखुल्ला नेपाली भूभाग अतिक्रमण गरेको र भारतले भर्खरै लिपुलेक भएर चीनको मानसरोवर जान खोलेको सडक त्यसैको चरम उत्कर्ष हो भन्ने साझा पार्टीको बुझाइ छ।

'खुला सिमानाले चोरी, डकैती, तस्करी लगायत राष्ट्रिय सुरक्षाका संवेदनशील पक्षहरूमा निम्त्याउने जटिलताहरू अनगिन्ती छन्। देशबाहिर स्वदेशी नागरिक र देशभित्र विदेशी नागरिक कुन प्रयोजनका लागि कति संख्यामा छन् भन्ने अभिलेख कुनै पनि सार्वभौम मुलुकका लागि महत्वपूर्ण हुन्छ,' पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'कोभिड- १९ को व्यवस्थापनमा समेत यस्तो सूचनाको महत्व खट्केको छ। भारतीय पक्षले पनि बारम्बार नेपालको खुला सीमाको दुरूपयोगका कारण उसको राष्ट्रिय सुरक्षामा आँच पुगेको बताउने गरेको छ।'

यस परिप्रेक्ष्यमा सीमाक्षेत्रका स्थानीय वासिन्दाहरूलाई समस्या नपर्नेगरी नेपाल-भारत सीमामा निश्चित नाकाहरूमात्र अभिलेखीकरणको व्यवस्थासहित खुला गर्न र सिमानाका अन्य भागहरू तारबारसहित बन्द गर्न नेपाल पार्टीले सरकारसँग माग गरेको छ। त्यसको लागि राहदानी, नागरिकता र परिचयपत्रको साथै अन्य प्रविधिको सहयोगमा सीमा वारपारलाई नियमन गर्नु नेपाल र भारत दुवैको दीर्घकालीन हितमा भएको निश्कर्षमा साझा पार्टी पुगेको छ।

बढ्दोरूपमा गम्भीर देखिँदै गएको यो विषयमा भारत सरकारसँग कूटनीतिक र राजनीतिक तहमा वार्ता गर्न साझा पार्टीले नेपाल सरकारलाई आग्रह गरेको छ। साथै द्विपक्षीय वार्तामा ढिलाइ हुने अवस्था भएमा सीमा विवाद नभएका ठाउँमा नेपालले एकतर्फीरूपमै तारबार लगाउन पहल गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ।

हालसम्म प्रमुख दलहरूको संस्थागतरूपमा ध्यान नपुगेको यस विषयमा राष्ट्रिय सहमति कायम गर्न पनि सरकारले पहल लिने अपेक्षा साझा पार्टीले गरेको छ।

प्रकाशित: May 15, 2020| 11:20 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।