सिराहा- प्रदेश नं २ को सिरहाबाहेक सातवटा जिल्लामा फैलिएको कोरोनाबाट ९५ जना संक्रमित भएका छन् ।
सबैभन्दा धेरै संक्रमित पर्सामा छन् । जहाँ ८२ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै बारा र रौतहटमा तीन-तीन, महोत्तरी सर्लाही र धनुषामा दुई-दुई, सप्तरीमा एक जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालय जनकपुरका वरिष्ठ स्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिए ।
हालसम्म प्रदेश नं २ मा तीन हजार ९३६ जनाको स्वाब सङ्कलन भएको छ । जसमध्ये दुई हजार ६५६ को नेगेटिभ परिणाम आएको छ ।
९८ जनाको पोजेटिभ परिणाम आएको छ भने एक हजार २०८ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।
प्रदेश नं २ मा बढ्दै गएको सङ्क्रमणलाई हेर्दै सीमा व्यवस्थापनलाई अझ बढी प्रभावकारी बनाउनुपर्ने विज्ञहरुको भनाइ छ ।
खुला सीमाबाट नेपाली आउने क्रम बढेको हुँदा बढी मात्रामा होल्डिङ प्वाइन्ट बनाएर क्वारेन्टाइन गर्ने प्रक्रिया शुरु गर्नुपर्ने विज्ञहरुले बताएका छन् ।
प्रदेशभर १७९ क्वारेन्टाइन सेन्टरमा चार हजार १९८ श्यया क्षमता छ । जसमा हाल एक हजार ४६८ क्वारेन्टाइनमा छन् ।
चार हजार ५२२ होम क्वारेन्टाइनमा छन् भने आइसोलेसन बेडमा जम्मा ४० जना छन् ।
सिरहामा निषेधाज्ञा
प्रदेश नं २ मा कोरोना सङ्क्रमतिको सङ्ख्या दिनहुँ बढ्दै गएपछि सिरहामा निषेधाज्ञा जारी गरिएको छ ।
पूर्वको सप्तरी, पश्चिमतर्फको धनुषा, उत्तरतर्फको उदयपुर र दक्षिण भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अहिलेसम्म कोरोना सङ्क्रमण नपाइएको सिरहा जिल्लालाई सुरक्षित राख्न आजदेखि निषेधाज्ञा जारी गरिएको हो ।
कोरोना सङ्क्रमितको सङ्ख्या प्रदेश नं २ मा बढ्दै गएका कारण जोखिम बढेकाले अर्को सूचना नआएसम्मका लागि निषेधज्ञा जारी गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले जानकारी दिए ।
अर्को जिल्लाबाट आउनेबिना पासका सवारी साधन तथा पैदलयात्रीलाई फिर्ता पठाउन र लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रण लिई सङ्क्रमण रोग नियन्त्रण ऐनअन्तर्गत कारवाही गर्न प्रहरीलाई निर्देशनसमेत दिएको छ ।