काठमाडौं- पूर्व गृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण देखिएको छ ।
विगत ३ महिनादेखि रावलको सुरक्षामा खटिएका उनको मंगलबार कोरोना परिक्षण गरिएको थियो । बुधबार आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको सशस्त्र प्रहरी प्रवक्ता प्रवीण कुमार श्रेष्ठले जानकारी दिए ।
रामेछाप घर भएका ३७ वर्षीय जवान करिब एक महिना अघि घर विदामा गएका थिए । उनी ड्युटिमा हाजिर हुनुअघि कोरोना परिक्षण गरिएको थियो ।
भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोटमा बस्दै आएका उनको रिपोर्ट पोजिटिभ आएपछि उनलाई अस्पताल भर्ना गरिएको छ।
सशस्त्र प्रहरी प्रवक्ता श्रेष्ठका अनुसार संक्रमित जवान घर रामेछाप र बसाई रहेको क्षेत्र काठमाडौं उपत्याकाबाहेक अन्यत्र गएका थिएनन् । उनलाई संक्रमण देखिएपछि शुक्रराज अस्पताल टेकुमा भर्ना गरिएको छ ।
यसैबीच आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीमा संक्रमण देखिएपछि नेकपाका नेतासमेत रहेका रावलले उनी आफूसँग सम्पर्कमा नरहेको बताएका छन् ।
रावलले भनेका छन्– ‘उनी श्रीमती बिरामी भएको भन्दै एक महिनादेखि घर गएका थिए,’अस्ती श्रीमती निको भइन्, ड्युटीमा आउँछु भनेर फोन गरेका रहेछन, कोरोना जाँच गराएर मात्रै आउनू भन्दिएको थिएँ, जचाउँन जाँदा पोजेटिभ देखिएछ ।’
केही दिनअघि सबै सांसदहरुको पीसीआर परीक्षण गर्ने क्रममा रावलको पनि परीक्षण हुँदा उनमा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएको थियो ।