जापानको ओकिनावा टापुका बासिन्दा दीर्घजीवनका लागि प्रख्यात छन्। उनीहरुको औसत आयु अधिक छ। कैयौं त सय वर्षभन्दा बढी उमेरका छन्। त्यति मात्र होइन आधुनिक समाजको स्वास्थ्य समस्या मुटु, सुगर तथा क्यान्सरको समस्या उनीहरुलाई छैन। सबभन्दा ठूलो कुरा उनीहरु जीवनसँग सन्तुष्ट छन्।
वकिनावाका बासिन्दासँगको लामो वार्ता, जापानी दर्शन र समाजको अध्ययनपछि हेक्टर ग्रासिया र फ्रान्सेस मिरालेसद्वारा लिखित पुस्तक इकिगाई विश्वप्रसिद्ध हुन पुग्यो।
जापानी दर्शनले भन्छ– सबै व्यक्तिले आफ्नो इकिगाई खोज्नुपर्छ। इकिगाई अर्थात् बाँच्नुको कारण तथा उद्देश्य पत्ता लगाउने कार्य।
जब मान्छेले आफूलाई चिन्छ तब उसले आफ्नो इकिगाई खोज्छ। त्यसपछि उसको जीवनमा सन्तुष्टि आउँछ। सन्तुष्टिले खुसी पनि ल्याउँछ। जीवनमा जे गरिन्छ त्यसबाट कहिल्यै पनि निवृत्त नहुनु नै इकिगाई हो। वृद्ध हुँदा जवान हुने कला हो, इकिगाई।
यो जापानी दर्शनले केही आभारभूत प्रश्न गर्छ। तपाईं केलाई माया गर्नुहुन्छ? तपाईंलाई मनपर्ने काम के हुन्? तपाईं के काममा राम्रो हुनुहुन्छ? तपाईंको क्षमता केमा छ? तपाईंको कामले समाजलाई के योगदान दिन्छ? यो समाजको आवश्यकता के हो? अनि, अहिलेको मूलभूत प्रश्न, तपाईंले गरेबापत पैसा पाउनुहुन्छ?
यसबीचमा उद्देश्य–मिसन, पेसा, व्यवसाय र उत्साहजस्ता कुरा आउँछन्। कुनै काम गरुँगरुँ लाग्ने र सो काम नै सधैंभरि गरिरहन मन लाग्नु नै इकिगाईको मूल तत्त्व हो।
पुस्तकले धेरै रोचक कुरा उधिनेको छ। त्यसैमध्येको एउटा प्रसंग हो— हारा हाची बु। यस जापानी शब्दावलीअनुसार खाँदा जहिले पनि ८० प्रतिशत मात्र खानुहोस् शतप्रतिशत होइन। त्यसो गर्दा शरीरले चाहिने खाना पाउँछ अनि दिमाग पनि शान्त हुन्छ। पेट भरिएपछि खाना पुग्छ भन्ने हो। शान्त दिमाग र स्वास्थ्य शरीर एकअर्कासँग सम्बन्धित कुरा हुन्।
ग्रासिया र मिरालेसको अध्ययनले के पत्ता लगाए भने मानिस तनावले गर्दा उमेरभन्दा बूढा देखिन्छन्। आधुनिक मानिस आदिमकालका गुफाका बासिन्दाभन्दा निकै तनावग्रस्त भए। गुफामा बस्नेहरु परिस्थिति आउँदा मात्र तनाव लिन्थे। आधुनिक मानिस २४ घण्टा अनलाइनमा हुन्छ। हातमा भएको मोबाइलमा आउने निरन्तरको नोटिफिकेसनले तनाव बोकिरहन्छ।

तनावमुक्त हुन वर्तमानमा बाँच्नुपर्छ। ध्यान गरेर जागृत अवस्थामा रहनु तनावबाट मुक्त हुने उपाय हो।
लेखकद्वयको तर्क छ न्यून तनाव लिनु र सकारात्मक सोच्नु राम्रो हो। तर त्योभन्दा राम्रो चुनौती स्वीकाररे जोखिम लिँदै आत्मैदेखि सफल हुने प्रयास अझ राम्रो हो। केही हदमा कठिन काम रोज्नु र दिमागलाई सक्रिय राख्नु र शरीरलाई ठिक राख्नु इकिगाईको मुख्य तत्त्व हो।
असफलतासँग लड्ने बलियो अस्त्र भनेकै लचिलोपन हो। हामी जति धेरै लचिलो हुन्छौं त्यति नै चाँडै उठ्न सक्छौं। लडेर फेरि उठ्नु भनेको जीवनको लक्ष्य प्राप्त गर्नु हो।
हामीले आफ्ना हरेक कार्यमा गति लिनुपर्दछ। विगत गइसक्यो, भविष्य आउनै बाँकी छ, र बचेको त वर्तमान मात्र हो। हामीले वर्तमानका प्रत्येक क्षणमा बाँच्नुपर्छ। पानीजस्तो निरन्तर खुला र लचिलो भएर बग्नुपर्छ।
जीवनमा एउटा प्रस्ट र ठोस उद्देश्य लिनुपर्छ। कम्पासले देखाउने दिशाजस्तो हाम्रो उद्देश्य प्रस्ट हुनुपर्छ। मेरो उद्देश्य के हो? ती उद्देश्य कहिले पूरा हुन्छन्? यी प्रश्न सदैव मनमा हुनुपर्छ।
जसरी ओलम्पिकमा एक सेकेन्डको ढिलाइले पदक उम्किन्छ, त्यसैगरी सदा तत्पर भएर बस्नुपर्छ। आफ्नो लक्ष्यमा केन्द्रित गर्नुपर्दछ। बहुआयमिक हुन सकिँदैन। हाम्रो दिमागले कम्प्युटरले जस्तो एकै साथ दुईवटा काम गर्न सक्दैन। तसर्थ एउटै काम दृढतापूर्वक गरेर शिल्पी हुनु सर्वोत्तम हुन्छ।
आफ्नो उद्देश्य पूरा गर्न लागिपर्नुपर्दछ। लक्ष्यमा नपुगुन्जेल हार मान्नु हुँदैन। एकपछि अर्को गर्दै आउने बाधाअड्चन सामना गर्दै अघि बढ्नुपर्दछ। जीवनमा ढिलोचाँडो सबैले अप्ठेरो स्थिति र कठिन क्षणको सामना गर्नु नै पर्छ। यसले आखिरमा मान्छेलाई दह्रो र अनुभवी बनाउने हो।
यसका लागि हामीले शरीर र मनलाई उचित तालिम दिएर भावनात्मक लचिलोपनलाई विकास गर्दै जानुपर्छ। असफलतासँग लड्ने बलियो अस्त्र भनेकै लचिलोपन हो। हामी जति धेरै लचिलो हुन्छौं त्यति नै चाँडै उठ्न सक्छौं। लडेर फेरि उठ्नु भनेको जीवनको लक्ष्य प्राप्त गर्नु हो। जापानी उखानै छ– फल डाउन सेभेन टाइम्स, स्ट्यान्ड अप एट। अर्थात्, सात पटक लेड पनि आठौं पटकमा उठ।
इकिगाईको मूल मर्म हो, वर्तमानमा पूर्ण एकाग्र भएर बाँच्नु। जतिसुकै लडे पनि आखिरमा उठ्नु र आफ्नो लक्ष्य हासिल गर्नु।
जीवन जिउन मात्र हैन, सफल र सादगीपूर्ण जीवन बिताउन केकस्ता प्रयत्न आवश्यक पर्छन् भन्ने सन्दर्भ पुस्तकमा निकै गहन रूपमा प्रस्तुत गरिएको छ। आध्यात्मिक जस्तो लाग्ने पुस्तकमा समेटिएका विषय धर्तीका जुनसुकै कुनामा बस्ने पाठकका लागि पनि प्रेरणादायी छन्।