शनिबार, कात्तिक २९, २०८२

नेपथ्यले तमोरको गीतमा भर्‍यो अष्ट्रेलियाको दृश्य

झण्डै अढाई दसकअघि संकलन गरिएको र १७ वर्षअघि सार्वजनिक भएको नेपथ्यको एउटा पुरानो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

काठमाडौं - झण्डै अढाई दसकअघि संकलन गरिएको र १७ वर्षअघि सार्वजनिक भएको नेपथ्यको एउटा पुरानो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

National life

‘पानी तिरतिरे ल्याउ भन्थे बाबैले मार्यो पिरतीले’ बोलको गीतलाई नेपथ्यले आफ्नो आधिकारीक युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो। यो भिडियोको पृष्ठभूमिबारे बताउँदै ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले यसको छायांकन अष्ट्रेलियामा गरिएको जानकारी दिए।

‘यसको छायांकन हामीले अष्ट्रेलियाको सांगीतिक यात्राका क्रममा दक्षिण अस्ट्रेलियाको अलडिंगा समुद्री किनारमा गरेका हौं’, उनले भने, ‘एक सहरबाट अर्को सहरमा आयोजित कन्सर्टका बीच फुर्सदको सदुपयोग गर्दै यो काम गरेका थियौं।’ अहिले त्यसै छायांकनलाई यो पुरानो गीतको भिडियोका रुपमा नेपथ्यले सार्वजनिक गरेको हो।

ब्याण्डका अधिकांश गीतहरुजस्तै यसको पनि संकलन अमृत गुरुङले गरेका थिए। ‘सन् १९९७ मा म तेह्रथुमको वसन्तपुरबाट ताप्लेजुङतर्फ जाँदै थिएँ’, अमृत त्यो क्षण सम्झदै सुनाउँछन्, ‘त्यतिबेलै बाटोमा अचानक यो गीतको पहिलो हरफ भेटिएको थियो।’

‘पैदल हिँड्दै जाँदा बाटोमा गुफापोखरी पथ्र्यो। त्यहाँको दृश्य बयान गरेर साध्य थिएन। गुफापोखरी छेवैमा देउराली थियो। त्यहि देउरालीमा बसेर म कुम्भकर्ण हिमालका दृश्यहरु क्यामरामा कैद गरिरहेको थिएँ’, अमृत सम्झन्छन्, ‘त्यतिबेलै वनतिर हिँडेका दुई तन्नेरीहरु हाम्रा नजिकै आइपुगे। उनीहरु मैले बोकेको क्यामराका प्रति अत्यन्तै जिज्ञासु थिए। मैले त्यसका लेन्सहरु चलाउँदै दृश्यलाई नजिक ल्याएर देखाइदिए। तन्नेरीहरु प्रभावित भए।’

Laxmi sunrise bank
kumari

‘मैले उनीहरुले गाउने कुनै गीतहरु छन् भने सुनाउन अनुरोध गरेँ’, अमृत भन्छन्, ‘त्यतिबेलै यो गीतको पहिलो अन्तरा उनीहरुले गाएका थिए।
पानी तिरतिरे...ल्याउ भन्थे बाबैले... मार्यो पिरतीले....’

अमृतलाई यो भाकाले साह्रै छोएछ। उनले अगाडिको पनि सुनाउन अनुरोध गरे। तर, तन्नेरीहरु ढिला भयो भन्दै वनतिर हिँडेछन्। ‘त्यसपछि म अलिक दिन लगाएर ताप्लेजुङ पुगेँ, बाटोमा राफ्टिङ पनि गरेँ र काठमाडौं फर्किए’, उनले थपे, ‘त्यो मनमा छोइरहेकै पहिलो अन्तरालाई समातेरै बाँकीको गीत आफैंले काठमाडौंमा तयार पारेको हुँ।’

यसरी तयार भएको यो गीत नेपथ्यको एल्बम ‘भेँडाको ऊनजस्तो’ का लागि सन् २००३ मा पहिलोपटक रेकर्ड गरिएको थियो। यस गीतको विशेषतामध्ये ‘क्वायर’को प्रयोग पनि एक हो। नेपथ्यको ‘भेँडाको ऊनजस्तो’ एल्बमका सबै गीतहरुमा संगीत संयोजन गर्ने काममा डानियल कार्थक (दानु) को अहम भूमिका थियो। इशाइ धर्मावलम्बी उनी चर्चको संगीतबाट नजिक हुने नै भए। ‘त्यतिबेला कालोपुल चर्चबाट दाजुभाइ दिदीबहिनीको एउटा समूह नै आएको थियो’, अमृतले सम्झना गरे, ‘गीतमा उनीहरुले निकालेका विभिन्न स्वरको क्वायर मिसिएकै कारण पनि यो अझ मिठो बन्न पुग्यो।’

यसरी तमोर नदीको किनारै किनार घाँस दाउरा गर्नेहरुको गुनगुनबाट निस्केको यो गीतले नेपथ्यको शिल्प पाएर ‘लोक रक’सम्मको यात्रा गरेको थियो। यस अवधिमा गीतकै हिसाबले मात्र श्रोताहरुले यसको आनन्द लिँदै आएका थिए।

यसैबीच नेपथ्यले केहि वर्षयता आफ्नो युट्युब च्यानल मार्फत् नयाँ गीतहरु सार्वजनिक गर्न सुरु गरेको छ। त्यसैगरि पहिल्यै रिलिज भइसकेका पुराना गीतहरुलाई क्रमशः नयाँ ‘म्यूजिक भिडियो’, ‘लिरिक भिडियो’ वा ‘लाइभ भिडियो’का रुपमा पुनः प्रेषित गर्ने मञ्चका रुपमा पनि यस युट्युब च्यानलको उपयोग गर्न थालेको छ।

यसै प्रकृया अनुसारै केहि दिनअघि नेपथ्यले ‘लिरिक भिडियो’ का रुपमा आफ्नो एउटा पुरानो गीत ‘सिमानामा’लाई पनि पुनःप्रस्तुत गरेको थियो। त्यसैगरि अर्को पुरानो ‘छोटो गीत’ले पनि केहि साता अघि भिडियोका रुपमा आफूलाई प्रस्तुत गरिसकेको छ। यी तीनवटै गीत ‘भेँडाको ऊनजस्तो’ एल्बमबाटै लिइएका हुन्।

‘नेपथ्यका पुराना एल्बममा समेटिएका गीतहरुलाई पुनः ताजा बनाउँदै भिडियोका रुपमा युट्युबमा राख्ने र यसैका आधारमा हाम्रा प्रशंसकहरुसम्म प्रत्यक्ष सम्पर्क पनि निरन्तर स्थापित गरिरहने प्रयासका रुपमा हामीले यो कदम चालेका हौं’, नेपथ्यको व्यवस्थापनका साथसाथै ब्याण्डका भिडियोहरुको निर्मातासमेत रहेको नेपालयका किरणकृष्ण श्रेष्ठले भने।

भिडियो

प्रकाशित: Apr 30, 2020| 14:16 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्