शुक्रबार, असोज ४, २०८१

लकडाउन : सांसदका लागि जनतासँग भिज्ने अवसर

लकडाउनका कारण विशेषगरी मजदुर र विपन्न परिवारलाई समस्या भएको छ। यो अवधिमा जननिर्वाचित सांसदको भूमिकाको खोजी भएको छ। कतिपय ठाउँमा राहत वितरण राजनीति भएको गुनासो गर्नेहरु पनि कम छैनन्।
 |  सोमबार, वैशाख १५, २०७७
nespernesper

देव राना

देव राना

सोमबार, वैशाख १५, २०७७

सुर्खेत– यही वैैशाख ५ गतेदेखि कर्णालीमा प्रदेश संसदको हिउँदे अधिवेशन अन्त्य भएको छ। विधेयक अधिवेशनका रुपमा लिइने हिउँदे अधिवेशन कोरोना भाइरसको त्रास र लकडाउनका कारण स्थगित भएको हो।

triton college

यो अधिवेशनमा प्रदेश सभाले एउटा पनि विधेयक पास गर्न सकेन। लकडाउनका कारण अधिवेशन नै अन्त्य भएपछि कर्णालीका सांसदहरु अहिले भूमिकाविहीन भएर गाउँ पुगेका छन्।

लकडाउनका कारण विशेषगरी मजदुर र विपन्न परिवारलाई समस्या भएको छ। यो अवधिमा जननिर्वाचित सांसदको भूमिकाको खोजी भएको छ। कतिपय ठाउँमा राहत वितरण राजनीति भएको गुनासो गर्नेहरु पनि कम छैनन्।

यस्तो समयमा नागरिकले नेता र सांसदको थोरै भए पनि आश मान्नु स्वभाविक हो। चुनावमा घरदैलोमा हात जोड्दै हिँड्ने तिनै सांसदहरु हिजोआज भने नागरिकको फोनै उठाउन डराउने गरेका छन्।

‘राहत र उद्धारका लागि दैनिक ५० देखि सय जनासम्मको फोन आउँछ,’ एक सांसदले भने, ‘मन्त्रीहरुले आफ्ना क्षेत्रका मजदुरहरु उद्धार गरे फेसबुकमा फोटा हाले, हामी त मन्त्री हुन सकेनौँ। अहिले फोन उठाउनै गाह्रो छ। केही दिन नसक्ने अवस्थामा फोन उठाएर पनि के गर्नु ?’

Metro Mart
vianet

यही अवस्थामा पनि केही सांसद भने गाउँमै राहत र उद्धारका काममा सक्रिय छन्। केही सांसदहरु लकडाउनमा सुरक्षित भएर घरमै बसिरहँदा केही सांसद भने सामान्य अवस्थामा जस्तै सक्रिय भएर अलपत्र नागरिकको उद्धार र राहतमा समन्वयमा जुटेका छन्।

अलपत्रको उद्धारमा शाही

नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही लकडाउनपछि काठमाडौंँमा छन्। बिहान एक घण्टा योग, अध्ययन र अलपत्र नागरिकको उद्धारको लागि पहल गर्दैमा उनको समय बित्छ।

‘रोजगारीका लागि विभिन्न जिल्लामा पुगेर अलपत्र परेका नागरिकहरुले उद्धारका लागि दिनहँ फोन गर्नुहुन्छ, समन्वयका लागि उपप्रधानमन्त्रीदेखि स्थानीय तहका प्रमुखसँग पहल गर्छु,’ शाहीले भने, ‘सकेसम्म जहाँ छन्, त्यही बस्न सक्ने व्यवस्था मिलाउँछु। ठाउँ छोडेर हिँडेका र बाटोमा अलपत्र भएकाहरुलाई उद्धारका लागि पहल गरिरहेको छु।’

अलपत्र नागरिक र सञ्चारमाध्यमबाट आउने फोन रिसिभ गर्दैमा दिनको ५–६ घण्टा बित्ने उनी बताउँछन्। यसका अलवा जिल्ला र कर्णालीवासीको अवस्थाबारे जानकारी लिने र सरकारसँग निरन्तर समन्वय र सहकार्यमा गर्दैमा उनको समय बितेको छ। साथै प्रदेश सरकारलाई पनि कोरोना रोकथामबारे सल्लाह दिने गरेको उनले सुनाए।

पार्टी र डाक्टरसँग निरन्तर समन्वयमा कँडेल

लकडाउनको अवधिमा कर्णाली प्रदेश सभाका सांसद यामलाल कँडेल स्थानीय तहले बाँडेको राहत, उद्धार र समग्र कर्णालीको अवस्थाबारे जानकारी लिन्छन्। नेकपा कर्णाली प्रदेशका सहइन्चार्ज समेत रहेका उनी पार्टीका गतिविधि र प्रदेश अस्पतालका डाक्टरसँग पनि निरन्तर अपडेटमा छन्।

‘कोरोनाबाट बच्नका लागि लकडाउनको पालना गर्नुको विकल्प छैन,’ कँडेल भन्छन्, ‘स्थानीय तहको राहत वितरणलाई सघाउँदै पार्टीका गतिविधिदेखि कर्णाली प्रदेशमा कोरोना परीक्षणको बारेमा डाक्टरसँग निरन्तर अपडेटमा छु।’

यसका साथै राहत वितरणमा जनताले गरेका गुनासाहरुको सम्बोधन र लकडाउन लम्बिए विकासे आयोजनालाई अघि बढाउने विषयमा छलफल व्यस्त छन्। कर्णालीलाई कोरोना संक्रमणबाट जोगाउन स्थानीय, प्रदेश र केन्द्र सरकारसँग आवश्यक समन्वय भइरहेको उनले बताए। साथै उनले लकडाउनलाई पालना गर्नसमेत सबैलाई आग्रह गरे।

शर्मा कार्यकर्ता परिचालनमा व्यस्त

कर्णाली प्रदेशका अर्का सांसद गोपाल शर्मा गृह जिल्ला रुकुम पश्चिममा पुगेका छन्। उनलाई आफूभन्दा पनि जनतालाई कसरी बचाउने भन्ने चिन्ता छ। ‘राजनीतिकर्मीको व्यक्तिगत जीवन हुँदो रहेनछ,’ शर्मा भन्छन्, ‘कोरोनाबाट जनतालाई बचाउन भोलेन्टियर रुपमा पार्टीका कार्यकर्ता खटाइरहेको छु।’

नेकपाको जिल्ला अध्यक्ष भएका कारण पनि लकडाउनकै बीचमा पार्टीका तीन वटा बैठक सम्पन्न गरेका छन्। सामाजिक दुरी कायम राख्दै आफू र कार्यकर्तालाई राहत र उद्धारमा खटाउने गरेको उनी बताउँछन्।

चौरजहारी सामुदायिक अस्पताललाई आइसोलेसन अस्पताल बनाउने र त्यसको अवस्था र भइरहेका विकास निर्माणबारे निरन्तर अपडेटमा रहको उनको भनाइ छ। उनले बाँकी समय हालसम्म भएका विकास निर्माणको समीक्षा र विगतका अनुभव र अनुभूतिहरु लेखेर समय विताउने गरेका छन्।

राहत जुटाउन दौडधुपमा थापा

लकडाउनपछि कर्णाली प्रदेश सभाका सांसद सुशील थापालाई भने राहत जुटाउन भ्याईनभ्याई छ। लकडाउनमा समस्यामा परेका मजदुर र विपन्न परिवारका लागि उनी राहत सामग्री जुटाउन जुटिरहेका हुन्।

यस्तै आफ्नो निर्वाचन क्षेत्र रहेको दैलेखमा उनले आवश्यक स्वास्थ्य सामग्री वितरण गरेका छन्। केही दिनअघि दैलेखका विभिन्न स्थानीय तहमा साढे तीन लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरेर उनी हिजोआज सुर्खेत फिर्ता भएका छन्।

व्यक्तिगत खर्चमा स्वास्थ्य सामग्री वितरण गरेपछि हिजोआज उनको ध्यान विपन्न परिवारमा छ। उनी सुर्खेतमा बसेर राहत जुटाउन सरकार, सांसद र समाजसेवीसँग समन्वय गरिरहेका छन्।

‘मन्त्री भएका जिल्लामा मात्रै सरकारको ध्यान पुग्यो, अन्य जिल्लाका नागरिकले राहत पाएनन्। उनीहरुको उद्धार पनि भएको छैन,’ उनी भन्छन्, ‘अब विपन्न समुदायका नागरिकलाई भोकमरीबाट कसरी बचाउन सकिन्छ भन्नेमा मेरो ध्यान केन्द्रित भएको छ।’

स्थानीय सरकारसँग हातेमाले गर्दै ओली

कर्णाली प्रदेशसभाका सांसद देवी ओली यतिबेला गाउँ पुगेकी छिन्। सासुआमाको निधनका कारण उनी घरबाट निस्कन भने पाइनन्। ‘लकडाउनपछि गाउँमा आएँ, घरबाहिर निस्कने वातावरण मिलेन,’ उनी भन्छिन्, ‘सामाजिक दुरी कायम गर्दै स्थानीय सरकारले गरेका विकास निर्माण र राहतका कामहरुमा सक्रिय छु।’

गाउँघरमा ठूलो भिडभाड नहुने र खेतिपातिको समय भएका कारण बाली भित्र्याउन सहयोग गर्दै आएको उनले जनाइन्।

‘अहिले किसानले बाली भित्र्याउने समय हो, कहिले किसानलाई सघाउँछु, कहिले नागरिकका लागि स्थानीय सरकारले गरेका कामलाई सघाउँछु,’ उनी भन्छिन्, ‘बाँकी समय बाहिरबाट आएका नागरिकको स्वास्थ्य अवस्था बुझ्छु।’ राहत र उद्धारका लागि आफूले जिल्लामा रहेका स्थानीय सरकारसँग हातेमालो र समन्वय गरिरहेको उनको भनाइ छ।

प्रकाशित: Apr 27, 2020| 07:42 सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।