जनकपुरधाम- लकडाउनले समस्यामा परेका गरिब तथा विपन्नको घरमा सोझै राहत पुर्याइदिने भएकाे छ। स्थानीय तहले प्रभावितसम्म राहत पुर्याउन नसकेको गुनासो आएपछि प्रदेश सरकारले सोझै राहत लगिदिन लागेको हाे।
प्रदेश मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लक्षित परिवारको घरमा सोझै राहत पुर्याउने गरी दोस्रो चरणको राहत प्याकेजको घोषणा गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए।
पहिलो चरणमा प्रदेश सरकारले स्थानीय तहमार्फत राहत वितरणको कार्यक्रम ल्याए पनि कतिपय स्थानीय तहले राहत वितरण गर्न नसकेको जनगुनासो आएपछि प्रदेश सरकारले पीडित परिवारलाई वडा कार्यालयको समन्वयमा सोझै घरमै राहत पुर्याउने योजना ल्याएको उनले बताए।
स्थानीय तहहरुले प्रदेश सरकारलाई बुझाएको पीडित परिवारको तथ्यांकका आधारमा प्रदेश सरकारले जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमार्फत राहत सामग्री खरिद गरी प्याकेट तयार गरेरै सूचीसहित वडालाई जिम्मा लगाउने र वडाले प्याकेट प्राप्त गरेको २४ घण्टाभित्र सम्बन्धित परिवारको जिम्मा लगाउने व्यवस्गा सरकारले गरेको छ।
स्थानीय तहले बुझाएको सूचीमा समस्या देखिए जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेश सभा सदस्यहरुले छानबिन गरी वास्तविक पीडितको पहिचान गरिने व्यवस्थासमेत गरिने सरकारले जनाएको छ।
मन्त्रिपरिषद्को बैठकले कोरोना महामारी नियन्त्रणको लागि आवश्यक उपकरण खरिद गर्न ६८ करोड रुपैयाँ निकासा गरेको छ। उक्त रकमले थप पीसीआर मेसिनसहित अन्य उपकरण खरिद गरिनेछ। बैठकले नारायणी उपक्षेत्रीय अस्पताललाई कोरोना बिरामीको उपचारका लागि आवश्यक व्यवस्था गर्न ५० लाख रुपैयाँ दिने निर्णयसमेत गरेको छ।