बारा - लकडाउनको समयमा स्थानीय तहले वितरण गरिरहेको खाद्यान्न सामग्रीमा विवाद देखिएपछि बाराको एक स्थानीय तहले राहतमा पैसा वितरण गर्ने निर्णय गरेको छ।
विपन्न तथा दैनिक ज्यालादारी गर्ने परिवारलाई स्थानीय तहले वितरण गरिरहेको दाल, चामल जस्ता खाद्यान्न सामग्रीमा विवाद देखिएपछि बाराको सुवर्ण गाउँपालिकाले राहतमा रकम वितरण गर्ने निर्णय गरेको हो।
गाउँपालिकाका वडाध्यक्ष रामएकवाल साह कलवारले आठै वटा वडा भित्र रहेका १ हजार ५ सय ६२ जना अति विपन्न र दैनिक ज्यालादारी गर्ने परिवारको लगत संकलन गरी प्रतिपरिवार १ हजारका दरले रकम राहतमा उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए।
बाराका १६ स्थानीय तहमध्ये १५ वटा स्थानीय तहले राहतमा खाद्यान्न सामग्री वितरण गरिरहेका छन्। खाद्यान्न वितरण गर्दा हुनेखानेले नै विभिन्न किमिमको झमेला खडा गरी विवाद गर्न थालेपछि गाउँपालिकाले राहतमा विपन्न परिवारको पहिचान गरी सीधै रकम वितरण गर्ने निर्णय गरेको कलवारको भनाइ छ।