बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना कहर : मिठाइ छोडेर तरकारी व्यवसायी बने वैद्यनाथ

कोरोना कहर : मिठाइ छोडेर तरकारी व्यवसायी बने वैद्यनाथ

लकडाउन लागू भएको झण्डै १५ दिनसम्म केही कामै नगरी वैद्यनाथले बिताए । मिठाइ तयार पार्ने एकमात्र सीप जानेका वैद्यनाथ लकडाउन पछि पूर्ण रुपले बेरोजगार भए ।
 |  शनिबार, वैशाख ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०७७

वैद्यनाथ साह केही दिनअघिसम्म मिठाइ व्यवसायी थिए । जानकी मन्दिरको उत्तरतर्फ वैद्यनाथ मिठाइ बेचेर परिवारको गुजारा चलाइरहेका थिए । मिठाइ पसल चलाउन पनि उनीसँग ठूलो पूँजी थिएन । थोरै पैसा लगानी गरेर सानोतिनो मिठाइ पसल चलाएर बसेका थिए उनी ।

मिठाइ पसलबाट धेरै पैसा कमाउन नसके पनि परिवारको घरपरिवार चलाउन आम्दानी वैद्यनाथको भइरहेको थियो । घर खर्चलाई चाहिने पैसाबाहेक धेरथोर पैसा बचत पनि भइरहेको थियो, वैद्यनाथलाई ।

जनकपुरधाम–३ बस्ने २८ वर्षीय वैद्यनाथको श्रीमती तथा एक छोरा र छोरी गरी चारजनाको परिवार छ । बाबुको मृत्यु भएको केही दिन नबित्दै आमा पनि संसार छोडर गइसकेकी छिन् । बाबु छँदा घरपरिवार चलाउने चिन्ताबाट मुक्त वैद्यनाथमाथि अहिले ठूलो जिम्मेवारी आएको छ । भाडामा बस्दा घरबेटीले मिठाइ तयार पार्न कचकच गरेपछि ऋण लिएर आफ्नै घर बनाएका छन्, उनले ।

कोरोना संक्रमणका कारण लकडाउन भएपछि अहिले जानकी मन्दिर बन्द छ । पूजाअर्चना गर्न कोही जाने गरेको छैन । जानकी मन्दिर बन्द भएसँगै वैद्यनाथको मिठाइ व्यवसाय पनि बन्द भइसकेको छ । मन्दिरमा पूजाअर्चना गर्न आउनेहरु नै वैद्यनाथका ग्राहक हुन्थे । तर, लकडाउन का कारण सम्पूर्ण गतिविधि नै ठप्प भइसकेपछि वैद्यनाथको आयआर्जन गर्ने बाटो बन्द भए ।

लकडाउन लागू भएको झण्डै १५ दिनसम्म केही कामै नगरी वैद्यनाथले बिताए । मिठाइ तयार पार्ने एकमात्र सीप जानेका वैद्यनाथ लकडाउन पछि पूर्ण रुपले बेरोजगार भए ।

त्यतिकै बसेर घरपरिवार चलाउन कठिनाइ भएपछि अहिलेको संंकटको घडीमा गर्न सकिने व्यवसायबारे वैद्यनाथले आफन्तहरुसँग सरसल्लाह गरे । आफन्तहरुको सल्लाहपछि मिठाइको व्यवसाय गर्दै आइरहेका वैद्यनाथ अहिले तरकारी व्यवसायी बनेका छन् ।

लकडाउन भएपनि तरकारी व्यवसाय गर्न रोक नरहेको वडाध्यक्ष दीपेन्द्र साहले दिएको सल्लाहअनुसार उनी अहिले ठेलामा तरकारी बेचेर परिवारको गुजारा गरिरहेका छन् । तरकारी व्यवसाय सुरु गरेपनि लकडाउनमा तरकारी खरिद गरेर ल्याउन समस्या भइरहेको थियो, उनलाई ।

बाहिर निस्कँदा प्रहरीले बाटोमा हिँडडुल रोक लगाएपछि तरकारी खरिद गर्न कठिनाइ थियो । तर, वडाध्यक्ष साहले वडा कार्यालयबाट सिफारिस गरेर पत्र दिएपछि तरकारी खरिद गरेर ल्याउन अब प्रहरीले उनलाई अवरोध गरेको छैन । साइकल डोर्याउँदै गाउँसम्म पुगेर उनी तरकारी ल्याएर जनकपुरमा व्यवसाय गरिरहेका छन् । तरकारी व्यवसाय सञ्चालन गर्न वडाध्यक्ष साहले आर्थिक सहयोगसमेत गरेका छन्, वैद्यनाथलाई ।

मिठाइ व्यवसाय बन्द हुँदा बेरोजगार बनेपछि वडाध्यक्ष साहले आर्थिक सहयोग गरेपछि ठेला राखेर अहिले तरकारी व्यवसाय गरिरहेको वैद्यनाथले सुनाए । ‘वडाध्यक्षज्यूको आर्थिक सहयोग पाएपछि अहिले तरकारी व्यवसाय गर्न पाएको छु, उहाँले सिफारिस पनि गरिदिनु भएको छ, ठूलो कठिनाइ टरेको छ,’ वैद्यनाथ भन्छन् ।

मिठाइ व्यवसायजस्तो आम्दानी नरहे पनि परिवारलाई दुई छाकको जोहो गर्ने समस्या तत्काल टरेको उनको भनाइ छ । ‘मिठाइ व्यवसाय जस्तो आम्दानी तरकारी व्यवसायमा छैन, पैसा जोगाउन त सकेको छुैन,’ उनले भने, ‘तर भोकै बस्ने समस्या अन्त्य भएको छ ।’ बिहान र बेलुका ठेला डोर्याएर वडाभित्रमात्र व्यवसाय गर्दै आइरहेको उनले सुनाए ।

मिठाइ व्यवसाय बन्द भएपछि समस्यामा परेको देखेर उनलाई आफूबाट हुनसक्ने सहयोग गरेको वडाध्यक्ष साह बताउँछन् । लकडाउन पछि बेरोजगार भएर घरमै बसेको देखेर वैद्यनाथलाई आफूले सहयोग गरेको उनको भनाइ छ ।

वैद्यनाथले ठेलामा व्यवसाय सुरु गरेपछि वडावासीले पनि घरमै तरकारी पाउन थालेपछि बजारसम्म पुग्ने झन्झट सकिएको वडाध्यक्ष साहले बताए ।

प्रकाशित: Apr 18, 2020| 17:16 शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।