काठमाडौं- पश्चिमी वायुको प्रभावका कारण आगामी तीन दिनसम्म मौसम बदली गराउनुका साथै देशका कतिपय भूभागमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी पश्चिमी वायुको प्रभाव अझै सक्रिय देखिने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो।
देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षा हुन सक्ने देखिएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। हाल देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली साथै पूर्वी र मध्य भूभागमा आंशिक बदली रहेको छ।
शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका मध्य र पूर्वका केही स्थनका साथै पश्चिमका थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ।
रातको समयमा पनि देशको पूर्वी भूभागमा सामान्य बदली र मध्य तथा पश्च्मिी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पूर्वी भेग तथा मध्य र पश्चिमी पहाडी क्षेत्रका केही स्थानमा मेघर्जन, चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।
आइतबार पनि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही तराईका भेगमा आंशिक बदली हुनेछ। पहाडी भेगका केही स्थानमा साथै तराईका एक, दुई स्थानमा मेघगर्जन, चटयाङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ। रातिको समयमा पनि यो क्रम जारी रहनेछ।
साेमबार देशभर आंशिकदेखि सामान्य बदली रहने र अपराह्नपश्चत पहाडी भूभागका केही स्थानमा साथै तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। -रासस