चितवन- शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टी भएका चितवनमा दुई व्यक्ति चैत ३ गते बेलायतबाट कतार एयरवेजमा काठमाडौं आइपुगेको खुलेको छ।
चितवनको राप्ती नगरपालिका– ८ का एकाघरका ६३ वर्षीया आमा र २७ वर्षीय छोरा काठमाडौं ओर्लिएको दुई दिनपछि मात्रै चितवन पुगेका थिए।
नगरपालिकाले विदेशबाट आएकाहरुको सूची तयार पार्ने क्रममा उनीहरु विदेशबाट आएको थाहा पाएपछि होम क्वारेन्टिनमा बस्न भनिएको थियो।
कोरोना संक्रमणको लक्षण नदेखिएका उनीहरुलाई नगरपालिकाको आग्रहमा सुरुमा र्यापिड डाइग्नोष्टिक टेस्ट गर्दा शंकास्पद देखिएको थियो।
त्यसपछि बिहीबार उनीहरुको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा स्वाब परीक्षण गर्दा पोजेटिभ नतिजा आएपछि पुनः पुष्टीका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षण पनि पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिले उनीहरुको अवस्था सामान्य रहेको डा. भोजराज अधिकारीले जानकारी दिए। उनीहरुको परिवारमा अर्का छोरा सँगै भए पनि उनमा भने कोरोना संक्रमण देखिएको छैन।