जनकपुरधाम- नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँमा अग्रमोर्चामा खटिइरहेका चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सरकारसँग माग गरेको छ।
कोरोनाविरुद्धको लडाइँमा चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र सञ्चारकर्मीको भूमिका सराहनीय रहेको भन्दै उनीहरुको मनोबल उच्च बनाउन कांग्रेसले सरकारसँग माग गरेको हो।
कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेन्द्र यादवले शुक्रबार विज्ञप्ति जारी गर्दै अग्रमोर्चामा खटिएका चिकित्सकदेखि सम्पूर्ण सरोकारवालालाई अधिकभन्दा अधिक प्रोत्साहन गर्न सरकारले ध्यान दिनुपर्ने बताएका छन्।
साथै यादवले कोरोनाविरुद्धको लडाइँमा अग्रमोर्चामा रहेका उनीहरुलाई सुरक्षाका लागि आवश्यक पर्ने गुणस्तरीय सामग्रीको प्रबन्ध गर्न माग गरेका छन्।
सरकारको उदासीनताका कारण दैनिक श्रम गरी जीवन व्यतीत गर्ने श्रमिकहरु उठिबासको अवस्थामा पुगेको उनले आरोप लगाएका छन्।
‘सरकारले राहत प्रदान गर्नतर्फ ध्यान नदिँदा श्रमिकहरु लामो दुरीको पैदल यात्रा गर्न बाध्य भएका छन्। ती श्रमिक मजदुर पनि नेपाली नागरिक नै रहेको सरकारले बिर्सेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘श्रमिकहरुको सुरक्षित बसोवास र खानपिनको व्यवस्था गर्नतर्फ यथाशीघ्र सरकारको ध्यान पुगोस् ।’
न्यून आय भएका व्यक्तिलाई यथोचित राहत वितरण गरेर सीमावर्ती क्षेत्रमा फसेका सबै नेपालीको उचित व्यवस्थापन तथा उद्धार कार्यलाई प्राथमिकता दिन उनले सरकारसँग माग गरेका छन्। विदेशमा रहेका सबै नेपालीको आवश्यक सुरक्षाको व्यवस्था मिलाउनसमेत यादवले सरकारलाई ध्यानाकर्षण गराएका छन्।
कोरोना महामारी रोकथाम अहिलेको प्राथमिकता रहे पनि सरकार आयोगमा आफ्नो कार्यकर्ताको पदपूर्तितर्फ केन्द्रित रहेको भन्दै यादवले आपत्ति जनाएका छन्।