शुक्रबार, असोज ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • रुकुम पश्चिमका कोरोना आशंकित : विदेशबाट फर्केको तीन साता पछिमात्रै परीक्षण

रुकुम पश्चिमका कोरोना आशंकित : विदेशबाट फर्केको तीन साता पछिमात्रै परीक्षण

रुकुम पश्चिममा कोरोना भाईरस संक्रमणको आशंका गरिएका दुवैजना चैतमा गाउँ फर्किएको खुलेको छ।
 |  बुधबार, वैशाख ३, २०७७
nespernesper

देव राना

देव राना

बुधबार, वैशाख ३, २०७७

रुकुम पश्चिममा कोरोना भाईरस संक्रमणको आशंका गरिएका दुवैजना चैतमा गाउँ फर्किएको खुलेको छ। उनीहरु बाँफीकोट गाउँपालिका वडा नम्बर ६ र ७ का स्थायी बासिन्दा हुन्।

triton college

‘दुवैजना भारतबाट चैत १० गते गाउँ फर्किएका थिए,’ बाँफीकोट गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष नरबहादुर खत्रीले भने, ‘गाउँ आएपछि हामीले होम क्वारेन्टाइनमा बस्नु भनेका थियौँ, समयमै परीक्षण गराउन सकिएन ।’

समयमै कोरोनाको परीक्षण गरिदिन प्रदेश सरकारसँग अनुरोध गरे पनि चैत ३१ गतेमात्रै स्वाब संकलन गरेको र आज अर्थात् वैशाख ३ गतेमात्रै रिपोर्ट आएको वडाध्यक्ष खत्रीको भनाइ छ ।

‘भारत र विदेशबाट आएका सबैको तथ्याङ्क नै संकलन गरेर, जिल्ला प्रशासन र प्रदेश सरकारलाई पठाएका थियौँ,’ वडाध्यक्ष खत्रीले भने ‘गाउँ फर्किएकाहरुको विवरण बुझाएपछि छिटो कोरोना परीक्षण होला भन्ने लागेको थियो तर चैत १० गते गाउँ फर्किएकाहरुको वैशाख ३ गते परीक्षण भयो ।’

समयमै कोरोना परीक्षण हुन नसक्दा गाउँमा त्रास फैलिएको वडाध्यक्षले जनाए । ‘होम क्वारेन्टाइनमा बसाल्नु बाहेक हामीसँग अर्को विकल्प थिएन,’ उनले भने, ‘लकडानअघि नै गाउँ फर्किएका कारण क्वारेन्टाइनमा पनि राख्न सकेनौं, कोरोनाको शंका देखिएपछि गाउँमा त्रास छाएको छ ।’

Metro Mart
vianet

यद्यपि कोरोना आशंका गरिएका दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको वडाध्यक्ष खत्रीले जानकारी दिए । ‘अहिले दुवैजनाको स्वास्थ्य अवस्था सामान्य छ तर आशंका बढेपछि अस्पताल लैजान लागेका छौँ,’ उनले भने, ‘एम्बुलेन्स गाउँमा आइपुगेको छ, अब चौरजहारी सामुदायिक अस्पतालमा लगेर उपचार गछौँ ।’

यता कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले भने सुर्खेतको कोरोना परीक्षण गर्ने आरटी–पीसीआर मेसिनको क्षमता न्यून भएको भन्दै नम्ना परीक्षणमा ढिलाइ भएको जनाएको छ ।

‘प्रदेशसँग एक दिनमा १२, १५ जनाको मात्रै कोरोना परीक्षण हुन्छ ।’ स्वास्थ्य निर्देशक रीता भण्डारीले भनिन्, ‘मेसिनको क्षमता न्यून हुँदा स्वाब संकलन गर्दै सुदूरपश्चिम र काठमाडौं प्रयोगशालामा पठाउनुपर्ने बाध्यता छ ।’

रुकुममा कोरोना आशंका गरिएका दुवैजनाको कैलालीको प्रयोगशालामा स्वाब परीक्षण गरिएको भण्डारीले जानकारी दिइन् । ‘प्रदेशभर ८ हजारभन्दा बढी नागरिक गाउँ फर्किएका छन्, विदेशबाट आएका र कोरोना आशंका गरिएका सबैको स्वाब परीक्षण हुन्छ,’ भण्डारीले थपिन्, ‘कोरोना संक्रमण नफैलियोस् भन्नकै लागि द्रूत परीक्षण सुरु गरेका हौँ ।’

कोरोना आशंका अहिले नै गरिए पनि त्रसित हुन नहुने उनको भनाइ छ । ‘परीक्षण गर्दा आशंका मात्रै लागेको हो, कन्फर्म गर्न केन्द्रीय प्रयोगशाला पठाएका छौँ,’ भण्डारीले भनिन्, ‘कोरोना पुष्टि नहुँदासम्म सजकता अपनाउनुपर्छ तर आत्तिनु पर्दैन ।’ आशंका गरिएका व्यक्तिबाट डराउनको सट्टा हौसला दिएर आत्मबल बढाउनुपर्ने उनको भनाइ छ।

‘आरटी–पीसीआर परीक्षण गर्दा संकास्पद लक्षण देखिएको हो, पुनः परीक्षणका लागि स्वाब केन्द्रीय प्रयोगशालामा पठाएका छौँ,’ उनले भनिन्, ‘केन्द्रीय प्रयोगशालाको रिपोर्ट आएपछि मात्रै कोरोना भए, नभएको पुष्टि हुन्छ ।’ 

सुर्खेतको प्रयोगशालाको कोरोना परीक्षण क्षमता न्यून भएपछि गत सोमबार ९९ स्वाब परीक्षणका लागि कैलालीको प्रयोगशालामा पठाइएको थियो । जसमध्ये रुकुम पश्चिमबाट मात्रै ३९ जनाको स्वाब परीक्षण गरिएको थियो ।

कोरोना आशंका गरिएका दुवैजनालाई आइसोलेसनमा राखेर उपचार गर्ने निर्देशनालयको भनाइ छ । रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पताललाई प्रदेश सरकारले कोरोना विशेष अस्पतालका रुपमा घोषणा गरेको छ ।

अस्पतालमा १० बेडको आइसोलेसन र चार बेडको आइसीयू कक्ष तयारी अवस्थामा रहेको अस्पतालका अस्पताल प्रशासक डिलबहादुर खत्रीले जानकारी दिए । कोरोना संक्रतिको उपचारका लागि कर्णाली प्रदेश सरकारले अस्पताललाई ५० लाख रुपैयाँ दिएको छ । प्राप्त बजेटबाट ५० बेडको आइसोलेसन र आइसीयु कक्षलाई व्यवस्थित गर्ने अस्पतालले जनाएको छ ।

प्रकाशित: Apr 15, 2020| 21:11 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।