जनकपुरधाम- कोरोना संक्रमण फैलिन नदिन मुलुक ‘लकडाउन’ मा छ। तर जिल्ला विपद् व्यवस्थापन धनुषाले गरेको निर्णयपछि ‘लकडाउन’ उल्लंघन बढेको छ। मंगलबारसम्म पूर्ण रुपले ‘लकडाउन’ पालन भइरहेको जनकपुरमा विपद् व्यवस्थापनको निर्णयपछि बुधबार चहलपहल बढेको छ।
मंगलबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले खाद्यान्न, इन्धन, औषधि, दुध, खानेपानी, तरकारीलगायतका अत्यावश्क उपभोग्य वस्तु बिहान ५ बजेदेखि अपराह्न ४ बजेसम्म खरिदबिक्री गर्न सकिने निर्णय गरेको छ। यस्ता सामग्री खरिद बिक्री गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने निर्णयमा उल्लेख छ।
विपद् व्यवस्थापन समितिले अत्यावश्यक उपभोग्य वस्तुहरु मात्र खरिद बिक्री गर्न सकिने निर्णय गरेको छ तर यसबाहेकका अन्य पसल पनि खुलेका छन् ।
विपद् व्यवस्थापन समितिको यस्तो निर्णय आएसँगै पसलमा भीडभाड बढेको छ भने सवारीसाधन पनि गुड्न थालेका छन्।
समितिको निर्णयको यहाँका कतिपय स्थानीयले विरोधसमेत गरेका छन्। कोरोना संक्रमणको खतरा बढिरहेको बेला ‘लकडाउन’ लाई थप कडाइ गर्नुपर्नेमा यस्तो निर्णय गरेर जोखिम बढाउने काम भएको युवा अभियन्ता सुशील कर्णले बताए।
कोरोना संक्रमण रोकथाम गर्नु प्राथमिकता हुनुपर्नेमा विपद् व्यवस्थापन समितिको निर्णयले ‘लकडाउन’ को धज्जी उडाएको उनको भनाइ छ।
विपद् व्यवस्थापन समितिको निर्णयपछि कामै नभए पनि सामान खरिद गनै वहानामा मानिसहरु सडकमा हिंड्न थालेको कर्णले बताए।
विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले वहाना बनाएर सडकमा हिँड्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन्। खाद्यान्नलगायतका अत्यावश्यक वस्तुबाहेक अन्य पसल सञ्चालन गर्ने निर्णय नभएको उनले स्पष्ट पारे।