बिहीबार, भदौ ४, २०८३

बन्दाबन्दी छैन गाउँमा, तास र मदिरामा मस्त गाउँले

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको तीन साता बढी लामो बन्दाबन्दीमा दैलेख सदरमुकामबाहेक स्थानीय तहका अधिकांश पसल खुलेका छन्। सरकारले बन्दाबन्दीको पूर्ण पालना गर्न सूचना जारी गरे पनि सूचनाको बेवास्ता गर्दै गाउँका पसलहरु चलिरहेको छ।
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको तीन साता बढी लामो बन्दाबन्दीमा दैलेख सदरमुकामबाहेक स्थानीय तहका अधिकांश पसल खुलेका छन् । सरकारले बन्दाबन्दीको पूर्ण पालना गर्न सूचना जारी गरे पनि सूचनाको बेवास्ता गर्दै गाउँका पसलहरु चलिरहेको छ ।

जिल्लाका ११ स्थानीय तहका मुकामबाहेक गाउँका फुटकर पसलमा मानिसहरूको भीड लाग्ने गरेको छ । गाउँका फुटकर पसलेले निर्धक्क व्यापार व्यवसाय गरिरहेका छन् ।

दैलेख जिल्लाको सदरमुकामसमेत रहेको नारायण नगरपालिकाले गाउँका पसलहरु खुला भएपछि सबै फुटकर पसल तथा होटललाई बन्द गर्न आग्रह गर्दै पत्र थमाएको छ । वडा नं १ मा रहेको सदरमुकाम बाहेकका अन्य १० वडाका वडाअध्यक्षलाई परिचालन गरी पसलमै पुगी पत्र बुझाइएको नगर प्रमुख रत्नबहादुर खड्काले जानकारी दिए।

उनले भने, “हामीले नगरका १० वटै वडाअध्यक्षलाई आजैबाट गाउँका फुटकर पसलसमेत बन्द गर्न पत्र काटेर खटाएका छौँ । अन्तिम पटक पत्रद्वारा आग्रह गरिएको हो । अटेरी गरी खुला गरे पसल नै सिल गरिनेछ ।”

यस्तै निर्वाचन क्षेत्र–२ को दुल्लु नगरपालिकामा समस्या देखिएकाले बन्दाबन्दीलाई कडा पारिने नगर प्रमुख घनश्याम भण्डारीले बताए। गाउँका पसलहरु खुला हुँदा बन्द गर्ने अभियान अगाडि बढाइने आठविस नगर प्रमुख खड्गराज उपाध्यायले बताए।

साना तथा फुटकर पसल खुला हुँदा कोरोना भाइरस फैलिने सम्भावना देखिएपछि सावधानी अपनाउन आफ्नो गाउँपालिकामा सहुलियत पसल सञ्चालन गरिएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए। “हामीले स्थानीय जनताका लागि सहुलियत पसल हरेक वडामा सञ्चालन गरेका छौँ, त्यहाँ कोरोना भाइरसको सङ्क्रमण रोक्न सबै नियम पालना गरिएको छ । सहुलियत पसलबाहेक अन्य पसलहरु खुला भएको जानकारी पाए कारबाही गरिने छ,” उनले भने।

यो महामारीमा सरकारले कोरोना रोकथामका लागि गरेको बन्दाबन्दीलाई पूर्ण पालना गर्न सबै व्यापारी हरुलाई पसल बन्द गरी सहयोग गरिदिन आग्रह गरिएको दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलबहादुर विकले बताए। उनले भने, “कतै भूलवश गाउँमा पसलहरु खुल्ला भएका होलान् ती पसललाई हामी हाम्रो माध्यमबाट बन्द गर्न लगाउँछौं ।”

भारतबाट आएका मानिसहरू क्वारेन्टाइनमा बस्नुको साटो स्थानीय पसलहरुमा मदिरा सेवन गरेका र तास खेलेका भेटिने गरेको महाबु–१ का शिक्षक जङ्गबहादुर थापाले बताए। सम्झाउँदा उल्टो आफूलाई गाली गर्ने गरेको उनको भनाइ छ । “स्थानीय तहका मुकामबाहेक अन्य गाउँमा सायद यस्तै हालत छ, सरकारका लागि बन्दाबन्दी मान्नु पर्ने जस्तो बुझाइ हरेकमा छ, त्यसैले सूक्ष्म अनुगमन गर्न जरुरी छ,” उनले भने।

अधिकांश गाउँका पसलमा बस्ने, गोप्यरूपमा तास खेल्ने र त्यो पनि नभए हुल बाँधेर खोलामा आउने गरेको भैरवी–१ कर्णबहादुर कार्कीले बताए। “मैले खोलामा माछा मार्न थालेको २० वर्ष भयो । मेरो घर भैरवी र महाबुको सङ्गममा छ तर खोलामा मानिसको यति ठूलो भिड अहिलेसम्म देखेको थिएन, भीड देख्दा मलाई अचम्म लागेको छ,” उनले भने।

रासस

प्रकाशित: Apr 15, 2020| 10:01 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।