द्रूत परीक्षण प्रविधिमा गोरखा आरुघाटका एकजनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ ।
मंगलबार स्वास्थ्य कार्यालय गोरखा र आरुघाट गाउँपालिकाको स्वास्थ्य इकाइले आरडिटी प्रविधिमार्फत् एण्टिबडी जाँच गर्दा आरुघाट गाउँपालिका ५ का एकजनाको पोजेटिभ देखिएको गाउँपालिकाले जनाएको छ ।
मंगलबार आरुघाट गाउँपालिकामा विदेशबाट आएका ३९ जनामध्ये २० जनाको आरडिटी प्रविधिमार्फत् एण्टिबडी जाँच गरिएको थियो ।
‘स्वास्थ्यकर्मीले एकजनाको रिपोर्ट पोजेटिभ देखिएको छ भन्नुभएको थियो,’ गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले भने, ‘उनको स्वाब परीक्षण गर्न पठाइएको छ । अब दुई दिनपछि रिपोर्ट आएपछि मात्र कोरोना भाइरस पोजेटिभ भए नभएको निश्चित हुनेछ ।’ उनी गत फागुन २२ गते बहराइनबाट नेपाल आएका अध्यक्ष दाहालले जानकारी दिए ।
त्यस्तै आरुघाट गाउँपालिकाकै अर्का एक युवाको पनि रिपोर्ट शंकास्पद देखिएको अध्यक्षले बताए । उनको पनि स्वाब पठाइएको उनले बताए । दुवै युवालाई आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखिएको छ भने परिवारलाई होम क्वारेण्टाइनमा राखिएको अध्यक्ष दाहालले बताए ।
मंगलबार नै गोरखाको भीमसेन थापा गाउँपालिकाका २३ जनाको पनि आरडिटी परीक्षण गरिएको थियो । विदेशबाट आएका गाउँपालिकाभरिका २६ जनामध्ये २३ जनाको परीक्षण गरिएको गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेले जानकारी दिए । उनीहरु सबैको रिपोर्ट दुई दिनपछि मात्र आउने स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ।