भैरहवा– लकडाउनका कारण उत्पादित तरकारी बिक्री हुन छाडेपछि रुपन्देहीको मर्चवारस्थित समरीमाई गाउँपालिकाका किसानको तरकारी बिक्री गर्ने जिम्मा स्थानीय सरकारले नै लिएको छ।
गाउँपालिकाले किसानको तरकारी चलेको भाउमा बिक्री गर्नेगरी गाउँमै तारतम्य मिलाएको हो। तरकारी बिक्री नभएर किसान मारमा परेपछि सबै किसानको तरकारी खरिद–बिक्रीको जिम्मेवारी गाउँपालिकाले लिएको हो। गाउँपालिकाले सबै तरकारी उत्पादक किसानलाई आफ्नो खेतबारीमा उत्पादन भएको तरकारी संकलन केन्द्रमा ल्याउन आग्रह गरेको छ।
गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्लाले भने, ‘किसानहरुले जति तरकारी उत्पादन गर्नुहुन्छ, त्यो सबै संकलन केन्द्रमा ल्याउनुहुन्छ। चल्तीको दररेटमा हामीले बिक्री गर्ने प्रबन्ध मिलाएका छौं।’
समरीमाईको असुरैना, बैरवन, परसहवा, नगवलिया, पचपेडवा, अवधपुर, चक्किया, पिपरहवा, खाख्डाउर क्षेत्रका किसानले व्यावसाियक रुपमा तरकारी लगाउने गर्छन्। समरीमाई गाउँपालिकाको डेहुलीमा सरकारकै लगानीमा तरकारी खेती कार्यक्रमसमेत चलिरहेको छ।
लकडाउनका कारण बिक्री नभएको तरकारी गाउँपालिकाले उचित मूल्यमा खरिद–बिक्री गर्ने प्रबन्ध मिलाएपछि राहत मिलेको समरीमाई–६ का किसान कपिल केवटले बताए।
उनले भने, ‘हामी किसानलाई दुईचार किलो चामल, तेल, दाल दिनु भन्दा हाम्रो तरकारी समयमै उचित मूल्यमा बिक्री भए भइहाल्छ। पालिकाले शुरु गरेको छ। दुई हप्ता समस्या नै भयो,। अब समस्या हटेको छ।’
रुपन्देहीको मर्चवार क्षेत्रमा पर्ने समरीमाई, मर्चवारी, कोटहीमाई गाउँपालिका तरकारी उत्पादनका दृष्टिले जिल्लामै महत्वपूर्ण क्षेत्र हुन्। यस क्षेत्रका तरकारी उत्पादकहरुले सामान्य अवस्थामा भैरहवा, बुटवल, नारयणगढका व्यापारीहरुलाई तरकारी बिक्री गर्थे। तर लकडाउन भएपछि व्यापारी आउन पाएनन्।
अहिले गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयको सहयोगमा किसानको तरकारी संकलन केन्द्रमा खरिद गर्नेगरी व्यवस्था मिलाएको हो। पालिकाको समन्वयमा उक्त तरकारी भैरहवाका व्यापारीलाई नियमित रुपमा लैजानेगरी पालिकाले व्यवस्थापन गरेको छ।
यतिबेला गहुँ स्याहार्ने समय पनि हो। समरीमाई गाउँपालिकाले सामाजिक दूरी कायम गरेर किसानहरुलाई गहुँ स्याहार्ने काममा लाग्न प्रेरित पनि गरिरहेको पालिका अध्यक्ष शुक्लाले बताए।
गाउँपालिकाले सीमावर्ती क्षेत्रमा आवतजावत नगर्न पनि आग्रह गरेको छ। पालिकाले किसान तथा मजदुरलाई बिहान–बेलुकाको खानाको समस्या परेमा तत्काल पालिकामा सम्पर्क गर्न पनि आग्रह गरेको छ। समरीमाई गाउँपालिका किसानहरुको बाहुल्य भएको रुपन्देहीको ग्रामिण क्षेत्र हो।