सुर्खेत– कोभिड–१९ को जोखिम भित्रिन नदिन कर्णाली प्रदेशले तरकारी तथा फलफूल आयातमा समेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको मंगलबारको बैठकले अन्य प्रदेशबाट दूध, दुग्धजन्य पदार्थ, तरकारी, फलफूल र पशुपक्षी ल्याउन नदिने निर्णय गरेको हो।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुबबिक्रम बुढाथोकीका अनुसार बन्दाबन्दी अवधिभर अत्यावश्यक बाहेकका सवारी साधनहरुको आवागमनमा पूर्ण रोक लगाउने निर्णय भएको छ।
बन्दाबन्दीलाई थप प्रभावकारी बनाउन प्रदेशका मुख्य नाका सल्यानको कपुरकोट, कालिमाटी, सुर्खेतको बबई, पञ्चपुरी कुइने र चौकुनेमा थप सशस्त्र प्रहरी खटाउने तयारी गरिएको छ।
त्यस्तै किसानले परिवार बाहिरको व्यक्तिको प्रयोग नगरी खेतीपातीको काम गर्न सक्नेछन्।
सिमित जनशक्तिबाट नियन्त्रित रुपमा मेसिन औजारको प्रयोग गरी हुने विकास निर्माणका कामहरू पनि सञ्चालन गर्न दिने बैठकले निर्णय गरेको छ।
आजको बैठकले दैनिक ज्याला मजदुरी गर्ने र अप्ठ्यारोमा परेका विद्यार्थीको पहिचान गरी राहत वितरण गर्ने निर्णयसमेत गरेको छ।