जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रण गर्न परीक्षणलाई तिव्रता दिन निर्देशन दिएका छन्।
क्वारेन्टाइनमा रहेका शंकास्पदहरुको परीक्षणमा ढिलाई देखिएपछि मुख्यमन्त्री राउतले यस्तो निर्देशन दिएका हुन्।
साथै उनले सीमामा सतर्कता बढाउनसमेत सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएका छन्।
मुख्यमन्त्री निवासमा मंगलबार सम्पन्न प्रतिपक्षी दलका नेतासहितको निर्देशक समितिको बैठकपछि मुख्यमन्त्री राउतले सुरक्षा निकायका पदाधिकारी एवम् स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पदाधिकारीहरुलाई यस्तो निर्देशन दिएका छन्।
मुख्यमन्त्री राउतले खुला सीमानाका कारण प्रदेशमा कोरोनाको त्रास बढेको भन्दै सीमा नाकामा थप कडाइ गर्न सुरक्षा निकायका पदाधिकारीहरुलाई निर्देशन दिएका छन्। राउतले सुरक्षामा चाहिने आवश्यक सामग्री तत्काल उपलब्ध गराउन आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशनसमेत दिए।
स्वाब परीक्षणमा तिब्रता आउन नसकेको गुनासो आइरहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले स्वाब परीक्षण लगायतको काममा तदारुकता देखाउन समाजिक विकास मन्त्रालयलाई निर्देशन समेत दिएका छन्।
मुख्यमन्त्री राउतले कोरोना नियन्त्रणको लागि पैसाको अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै कार्यान्वयनको पाटो कुनै पनि इन्तु किन्तु सुन्न नचाहेको समेत बताए।
बैठकमा मुख्यमन्त्री राउतका अतिरिक्त मन्त्रीहरु, प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रामसरोज यादव, नेकपाका प्रदेश सभा सदस्य शत्रुध्न महतो, प्रमुख सचिवलगायत सबै मन्त्रालयका सचिव, स्वास्थ्य सल्लाहकार समूहका पदाधिकारीहरु, चारवटै सुरक्षा निकायका प्रदेश प्रमुखहरु सहितको उपस्थिति रहेको थियो।