काठमाडौं- काठमाडौं महानगरपालिकाले लकडाउनको समयलाई मध्यनजर गर्दै २४सै घण्टा निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ।
महानगरबासी आकस्मिक रुपमा विरामी परेमा उनीहरुलाई अस्पताल लैजान, एउटा अस्पतालबाट अर्को अस्पताल पुर्याउन तथा अस्पतालबाट घरसम्म पुर्याउनका लागि महानगरले संयुक्त एम्बुलेन्स चालक संघसँग सम्झौता गरी यस्तो सेवा सुरु गरेको हो।
यसका लागि महानगर र संघबीच सोमबार हस्ताक्षर भएको भने मंगलबारदेखि सेवा सुरु भएको छ।
निशुल्क सेवाका लागि महानगरले ५ वटा एम्बुलेन्स २४ सै घण्टा प्रयोग गर्नेछ। यो सेवाका लागि महानगरले संयुक्त एम्बुलेन्स चालक संघलाई ४ लाख रुपैयाँ प्रदान गर्ने सम्झौतामा उल्लेख छ।
एक महिनासम्मका लागि गरिएको यो सम्झौताअनुसार एम्बुलेन्स कसैलाई आकस्मिक रुपमा अस्पताल जान परेमा यो सेवा प्रयोग गर्न सकिनेछ। महानगरले हृदयघात, मृगौला रोगी, आकस्मिक सेवालगायतलाई प्राथमिकता दिन आग्रह गरेको छ।
यो सेवा प्राप्त गर्न महानगरपालिकाको टोल फ्रि नम्बर ११८० मा सम्पर्क गर्न सकिने महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले जानकारी दिएका छन्।
