काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी क्षेत्रमा पर्छ पेप्सीकोला–टाउन प्लानिङ।
काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत पर्ने यो क्षेत्र जग्गा प्लटिङ गरी विक्री गरिएकोले यस क्षेत्रलाई टाउन प्लानिङ भनेर बुझ्ने गरिएकोमा अहिले यस क्षेत्रको नाम नै ‘पेप्सीकोला–टाउन प्लानिङ’ रहन गएको छ।
टाउन प्लानिङस्थित मनोहरा खोलाको पश्चिमपट्टि छ सनसिटी अपार्टमेन्ट। अपार्टमेन्टकै नामले यहाँ चोकको नाम पनि सनसिटी राखिएको छ।
यसको नजिकै, खहरे, गान्धीमोड, बीरेन्द्र चौक, आदि ठाउँहरु छन्।
लकडाउनको अवधिमा यस क्षेत्रमा बिहान ६ बजेदेखि सडकमा समान्य दिन जस्तै होहल्ला सुरु हुन्छ। किराना स्टोर, तरकारी पसल, मासु पसललगायत खुल्छन्।
त्यो अफरातफरी बिहान ८ बजेसम्म हुन्छ। किनभने यस क्षेत्रमा बिहान ६ बजेदेखि ८ बजेसम्म मात्र पसल खोल्न निर्देशन दिइएको छ।
कतिपय पसलहरु नगर प्रहरीको गाडी अथवा नेपाल प्रहरीको गाडी नआएसम्म खुला रहन्छन् र प्रहरीले हप्कीदप्की लगाउँदा मात्रै बन्द हुन्छन्।
थोरै समयका लागि मात्रै पसलहरु खुल्ने भएकोले पसलमा भिडभाड हुनु स्वभाविकै हो।
लकडाउनको सुरुवाती दिनमा ती पसलहरु दिनभरी नै खुला हुँदा खासै भिडभाड देखिएको थिएन। त्यसपछि केही समय बिहान र बेलुका खुल्यो। त्यसमा थोरै भीड देखियो। र, अहिले बिहान जम्मा दुई घण्टाका लागि सिमित पसलहरु खुल्दा तँछाडमछाडको अवस्था सिर्जना हुने गरेको छ।
र, लकडाउन अवधिमा कायम गर्नुपर्ने समाजिक दूरी कायम हुन सकेको छैन।
२ घण्टाका लागि खुल्ने पसलहरुले पनि आफ्ना ग्राहकहरुलाई समाजिक दूरी कायम गर्न कुनै आग्रह गर्ने गरेका छैनन्।
जसका कारण यो क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन सक्ने सम्भावना बढी छ।
अपार्टमेन्टमा बसेको परिवारमा कोरोना देखिएपछि
नयाँ वर्ष सुरु भएको दिन बैशाख १ गते बिहान यस क्षेत्रमा अन्य दिनको तुलनामा झन् बढी भिडभाड देखियो। सबभन्दा बढी भीड खसीको मासु पसलमा देखिएको थियो। मासुका अगाडि न त कोरोनाको त्रास देखियो न त प्रशासनको भय।
तँछाडमछाड गर्दै खरिद बिक्री भइरहेको थियो। ८ बजेसम्म मात्र खोल्न पाइने पसलहरु करिब १० बजेसम्म खुले।
तर, साँझ एकाएक सनसिटी अपार्टमेन्ट छेउछाउमा सन्नाटा छायो। अपार्टमेन्टको १५ औं तल्लामा बस्ने एक परिवारका तीन सदस्यमा कोरोना पोजेटिभ देखिएको हल्ला चारैतिर फैलियो।
अपार्टमेन्टको गेटमा प्रहरी आएर अत्यावश्यक बाहेक कसैलाई भित्र प्रवेश गर्न वा बाहिर निस्किन दिएको छैन।
अपार्टमेन्टको अगाडिमा रहेका पसलहरु खुल्ने गरेका थिए। तर सोमबार ती पसलहरु खुलेन।
छेउछाउका मात्रै होइन आसपासका चोकहरुमा त्रास फैलियो। मंगलबार बिहान तरकारी तथा खाद्यन्न लिन जानेहरुले मास्क प्रयोग गरेको देखियो।
सनसिटीमै कोरोना देखिएपछि यहाँका सर्वसाधारणहरु आतंकित भएका छन्। तर, पनि सडकमा निस्किन कम गरेका छैनन्।
यस क्षेत्रमा के गर्ने?
सबभन्दा पहिले यस क्षेत्रका पसलहरु पूर्ण रुपले बन्द गरिनुपर्छ अथवा खोल्ने समय बढाउनु पर्छ। ताकी पसलहरुमा बिहान दुई घण्टा तँछाडमछाड नहोस्।
पसल खुल्ने समय बढाइएपछि सर्वसाधारणहरुले किनमेल गर्ने बढी समय पाउनेछन् र विस्तारै लाइनमा बसी सामान खरिद गर्न पाउनेछन्। र, पसलेहरुले पनि समाजिक दूरी कायम गर्न चिन्हहरुको प्रयोग गर्न सक्छन्।
होइन भने पसलहरु पूर्णरुपले बन्द गरी घुम्ती पसल सञ्चालन गरिनुपर्छ। जहाँ समाजिक दूरी कायम गर्दै खाद्यन्न सामाग्री घर नजिकै पुर्याइनु पर्छ।
‘भिलवाडा मोडल’ को प्रयोग
भारतमा कोरोनाले मृतकको संख्या बढ्दैछ। तर, राजस्थानको एक सहर भिलवाडाको चर्चा भारतमा चलेको छ। जहाँको प्रशासनले कोरोना नियन्त्रणका लागि अपनाएको शैली सबभन्दा महत्वपूर्ण मानिएको छ।
राजस्थानको भिलवाडामा एक अस्पतालका डाक्टरहरुमा कोरोना देखिएको थियो। उक्त अस्पतालमा आएका ६ हजार व्यक्तिहरुको लिष्ट बनाएर दुई दिनभित्रै सम्पर्क गरी आइसोलेसनमा राखियो।
सहरमा कर्फुयू लगाइयो र सर्वसाधारणलाई आवश्यक सामाग्री प्रशासनले घरसम्मै पुर्याउने व्यवस्था गर्यो। धर्मगुरुहरु मार्फत पनि सर्वसाधारणलाई घर मै बस्न आह्वान गरियो।
उक्त लकडाउनको अवधिमा सहरको ३० लाखभन्दा बढी सर्वसाधारणको केही दिनभित्रै तीन पटक कोरोना टेष्ट गरियो। जसमा २५ कोरोना पोजेटिभ भेटिए भने २४ कोरोनाको लक्षण देखिएका व्यक्ति भेटिए। उनीहरुलाई पनि आइसोलेसनमा राखिएको छ।
प्रशासनले ४२ अस्पताल र होटलहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरेको छ। पछिल्लो दस दिनमा भिलवाडामा जम्मा १ जना कारोना पेजेटिभ देखिएका छन्।
भिलवाडा मोडलको अनुशरण गर्दै कोरोना देखिएको टाउन प्लानिङ–सनसिटी एरियामा कर्फयू जारी गरी सबैको कोरोना परिक्षण गर्नुपर्छ। र, आत्यावश्यक सामान सर्वसाधारणको घरसम्म पुर्याइदिने व्यवस्था सरकारले गर्नुपर्छ।
यी उपायहरु अबलम्बन गरिएन भने कोरोना संक्रमणको जोखिम त बढ्छ नै यस क्षेत्रका बासिन्दा मनोवैज्ञानिक त्रासको शिकार बन्दै जाने निश्चित छ।